Date

सोम, साउन ५, २०८२
Mon, July 21, 2025

लगातार उकालो लाग्दै नेप्से : सोमबार दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने ओरालो

लगातार उकालो लाग्दै नेप्से : सोमबार दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने ओरालो

काठमाडाैं, ५ साउन । नेपाली सेयर बजारले सोमबार पनि हरियाली यात्रा कायम राखेको छ। आइतबार सामान्य अंकले बढेको बजार आज दोहोरो अंकले उकालो लाग्दै नेप्से परिसूचक ३१.७८ अंकले बढेर २,९०२.७९ बिन्दुमा पुगेर बन्द भएको छ।

हालसम्मको प्रवृत्तिमा हेर्दा, नेप्से २,९०० बिन्दु नजिक स्थिर रहँदा लगानीकर्तामा आशावाद झल्किएको देखिन्छ। तर, आजको दिन कारोबार रकममा भने उल्लेखनीय गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज कुल ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिदबिक्री भए। सो अवधिमा जम्मा कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ मात्र रहेको छ।

यसबाहेक, आइतबारको तुलनामा आजको कारोबार रकममा उल्लेखनीय कमी आएको हो। हिजो आइतबार ३१६ कम्पनीका ५ करोड १६ लाख कित्ता सेयरको २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यसले आजको सेयर कारोबारमा करिब ५ अर्बभन्दा बढीको गिरावट आएको स्पष्ट देखिन्छ।

आजको बजार वृद्धिमा विभिन्न क्षेत्रीय समूहको योगदान रहेको छ। विशेषगरी माइक्रोफाइनान्स समूह २.८२ प्रतिशत र अन्य समूह २.१९ प्रतिशतले अगाडि बढे। यसैगरी, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहका सूचक पनि हरियो क्षेत्रमा देखिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *