धान रोपाइँमा सुस्तता, गत वर्षभन्दा १२ प्रतिशतले कम, उत्पादनमा जोखिम

काठमाडाैं, ६ साउन । यस वर्षको साउन तेस्रो सातासम्म मुलुकभर जम्मा ७२ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो। गत वर्ष यसै अवधिमा ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर करिब १० लाख हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार नेपालमा कुल १४ लाख हेक्टर जति जमिनमा धान खेती हुने गर्छ।
जोशीका अनुसार केही भू-भागहरूमा अझै पनि रोपाइँको कार्य जारी छ। उनका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशले सबैभन्दा अग्रता लिएको छ, जहाँ १ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा ९७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। त्यसैगरी, लुम्बिनी र कर्णाली प्रदेशमा समानरूपमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयले यस वर्ष साउन दोस्रो सातासम्म कुल ९८ प्रतिशत रोपाइँ सम्पन्न हुने अपेक्षा गरेको छ।
जोशीका अनुसार, तराई क्षेत्र नेपालकै सबैभन्दा उपजाउ भूभाग हो र यहाँबाट कुल धान उत्पादनको ७० प्रतिशत उत्पादन हुने गर्छ, बाँकी ३० प्रतिशत पहाडी भेगले योगदान दिने गर्छ।
गत आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। तर, असामान्य मौसमी प्रभाव, प्राकृतिक प्रकोप, अत्यधिक वर्षा र खडेरीका कारण यस वर्ष रोपाइँ ढिलो भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांकअनुसार, धान उत्पादनमा १० प्रतिशतको उतारचढावले देशको कुल गार्हस्थ उत्पादन (GDP) मा झण्डै १ प्रतिशत प्रभाव पार्ने गर्छ।
यस वर्ष सरकारले ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ, जसबाट झण्डै ३५ लाख मेट्रिक टन मात्र खाद्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ।