आज तीन संसदीय समिति चलायमान, मानव अधिकारदेखि विदेशी रोजगारसम्मका विषयमा छलफल हुँदै

काठमाडाैं, ६ साउन । संघीय संसदका तीन महत्वपूर्ण समितिहरू आज विभिन्न समयमा बैठकमा बस्दैछन्। यी बैठकहरूमा मानव अधिकार, महिला श्रमिकको अवस्था, र सञ्चार क्षेत्रसम्बन्धी कानुन संशोधनबारे गहन छलफल हुने कार्यक्रम तय भएको छ।
संघीय संसद सचिवालयका अनुसार,
१. कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकको एजेन्डा अन्तर्गत ‘सार्वभौम आवधिक समिक्षा (UPR) तथा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल’ गरिने छ।
२. यसअघि, महिला तथा सामाजिक समितिको बैठक विहान ११:३० बजे बस्दैछ। बैठकमा ‘विदेशमा कार्यरत महिला श्रमिकहरूको वर्तमान अवस्था’ विषयमा छलफल गरिनेछ। पछिल्लो समय वैदेशिक रोजगारमा महिला कामदारहरूमाथि हुने शोषण, सुरक्षा अभाव र नीति निर्माणका पक्षमा यस बैठकलाई महत्वपूर्ण मानिएको छ।
३. यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो ३ बजे हुनेछ। सो बैठकमा ‘मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग प्रत्यक्ष छलफल’ गरिने छ। सञ्चार क्षेत्रको नियमनसम्बन्धी विधेयक लामो समयदेखि विवादित रहँदै आएको छ।
तीनवटै समितिका बैठकहरू आज संवेदनशील र महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुने भएकाले संसद सचिवालय र सरोकारवाला निकायहरू उक्त छलफललाई निकै गम्भीर रूपमा हेरिरहेका छन्।