नेपाली सिमेन्ट निर्यातमा २४ प्रतिशत गिरावट, भारतको बीआईएस विवाद मुख्य कारण

काठमाडाैं, ९ साउन । नेपालबाट हुने सिमेन्ट र क्लिंकरको निर्यात पछिल्लो आर्थिक वर्षमा २४.२९ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जम्मा २ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँको तुलनामा ठूलो गिरावट हो।
विभागको विवरण अनुसार, ३ लाख ५६ हजार ४७३ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट २ अर्ब २१ करोड ९४ लाख १८ हजार रुपैयाँमा र ४ लाख ९० हजार २७२ मेट्रिक टन सिमेन्ट क्लिंकर ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँमा निर्यात गरिएको हो।
तर अघिल्लो आर्थिक वर्षमा २३ लाख ३२ हजार ३७६ टन सिमेन्ट र पाँच लाख छ हजार ८४१ टन क्लिंकर निर्यात गरिएको थियो, जसले देखाउँछ कि निर्यात परिमाणमा समेत उल्लेखनीय गिरावट आएको छ।
नेपालको सिमेन्ट बजार मुख्यतः भारतमा केन्द्रित रहेको छ। पाल्पाको तानसेन सिमेन्ट, अर्घाखाँची, बालाजी र सर्वोत्तम सिमेन्ट जस्ता उद्योग भारतमा सिमेन्ट निर्यात गर्दै आएका थिए।
तर हाल भारतले नेपाली सिमेन्टलाई प्रदान गरिँदै आएको ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (BIS) प्रमाणपत्र समयमै नवीकरण नगरेपछि निर्यातमा समस्या देखिएको हो।