Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

व्यक्तिगत आकांक्षाले पार्टीमा फाटो नआओस् : डा. आरजु देउवा

व्यक्तिगत आकांक्षाले पार्टीमा फाटो नआओस् : डा. आरजु देउवा

काठमाडाैं, १५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत आकांक्षा र महत्वाकांक्षाले पार्टीमा भ्रम र फाटो ल्याउन नहुने स्पष्ट पार गरेकी छन्।

पोखरामा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि त्यसले पार्टीमा फुट ल्याउने स्थिति सिर्जना गर्नु अनुचित हुने बताइन्।

“पार्टी व्यक्तिगत आकांक्षा पूरा गर्ने प्लेटफर्म होइन,” उनले भनिन्, “यो राष्ट्र र समाजको सेवा गर्ने थलो हो।”

डा. देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको योगदानको चर्चा गर्दै उनीहरूको मार्गनिर्देशनमा अघि बढ्नुपर्नेमा जोड दिइन्। “हाम्रा बोली र व्यवहारले पार्टी कसरी बलियो बन्छ भन्नेमा केन्द्रित हुन सके, पार्टी अझै सशक्त बन्नेछ,” उनले भनिन्।

आगामी १५औं महाधिवेशनको सन्दर्भमा उनले स्वस्थ प्रतिस्पर्धा पार्टी बलियो बनाउने अवसर हो भने पनि कसैलाई छेउमा पार्ने प्रवृत्ति नहुनुपर्ने धारणा राखिन्।

नयाँ दलहरूले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरिरहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेसले पनि सामाजिक सञ्जालमार्फत सकारात्मक ऊर्जा र सन्देश दिनुपर्ने बताइन्।

युवालाई विदेश पलायनको प्रवृत्तिबाट रोक्न उनले देशमै बसेर सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा लाग्न आह्वान गरिन्। “देशमा केही भइरहेको छैन भन्ने नकारात्मक भ्रम फैलाउने प्रयास भइरहेको छ,” उनले भनिन्, “यसविरुद्ध हामीले सकारात्मक अभियान चलाउनुपर्छ।”

गण्डकी प्रदेश कांग्रेस सभापति शुक्रराज शर्मा र कास्की सभापति किशोरदत्त बरालले पनि पार्टीको मूल आदर्श राष्ट्रवाद, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिए। उनीहरूले एकता नै पार्टीको बल भएको र गुटबन्दीले संस्थागत क्षति पु¥याउने चेतावनी दिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *