पश्चिम सेती निर्माणबारे चिनियाँ कम्पनी र लगानी बोर्डबीच निर्णायक वार्ता असफल

काठमाडौं, १४ भदौ । पश्चिम सेती निर्माणका विषयमा चिनियाँ कम्पनी चाइना थ्री गोर्जेज इन्टरनेशनल कर्पोरेसन (सीटीजीआई) र लगानी बोर्डबीचको निर्णायक भनिएको वार्ता असफल भएको छ । मंगलबार र बुधबार चलेको दुई दिने वार्ताका क्रममा सीटीजीआईले डलरमा विद्युत् खरिद सम्झौता र आयोजनाको क्षमता घटाउने विषयमा लगानी बोर्ड लचक हुँदा पनि पुनर्वासमा ठूलो खर्च लाग्ने तथा अन्य प्राविधिक जटिलताहरु रहेको भन्दै यसबाट हात झिक्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विदेशी लगानीका आयोजनामा शुरुका १० वर्षसम्म अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेकोमा वार्ताका क्रममा चिनियाँ कम्पनीका लागि १२ वर्षसम्म डलरमा विद्युत् खरिद गर्न नेपाली पक्ष राजी भएको थियो । नेपाली पक्षले यसअघि निर्धारण गरिएको आयोजनाको क्षमता ७५० मेगावाटबाट घटाएर ६०० मेगावाटको आयोजना निर्माण गर्न आग्रह गरेको थियो । तर चिनियाँ पक्षले आयोजनाको लागत उच्च रहेकोले उचित प्रतिफल प्राप्त नहुने भन्दै आयोजनाबाट हात झिक्न लागेको हो ।
थ्री गोर्जेजसँग २०६८ साल फागुन १७ मा पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो भने गत वर्ष कार्तिक महिनामा सीटीजीआई र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त उपक्रममा हस्ताक्षर हुँदा २५ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको ७५ प्रतिशत हिस्सा सीटीजीआईको सेयर हुने गरी कम्पनी दर्ता गर्ने र सोही कम्पनीले पश्चिम सेती निर्माण गर्ने सहमति भएको थियो । लगानी बोर्डको गत साउन १ मा प्रधनमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले चिनियाँ कम्पनीसँग अन्तिम चरणमा वार्ता गरी दुई महिनाभित्र पश्चिम सेतीको विषय टुंग्याउन आग्रह गरेको थियो । सोही अनुसार लगानी बोर्डले सीटीजीआईलाई निर्णायक वार्ताका लागि बोलाएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डको आगामी बैठकका क्रममा वार्ताका क्रममा भएका विकासक्रम बारे जानकारी गराउने र बोर्डको निर्णय अनुसार अघि बढ्ने बताए । चिनियाँ पक्षले पनि बोर्डको निर्णयलाई आदर गर्ने जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *