Date

बुध, साउन २१, २०८२
Wed, August 6, 2025

बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग छलफल, प्रदूषण नियन्त्रणदेखि रोजगारी सिर्जनासम्मका योजना

बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग छलफल, प्रदूषण नियन्त्रणदेखि रोजगारी सिर्जनासम्मका योजना

काठमाडाैं, १९ साउन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयगत छलफल सुरु गरेको छ। यसैक्रममा आइतबार मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग विस्तृत छलफल गरेको छ।

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै उनीहरूलाई आधुनिक प्रविधिको प्रयोगमार्फत उद्यमशिल बनाउन ‘भगत सर्वजित उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत तालिम तथा प्रविधि हस्तान्तरणको योजना अघि सारिएको छ। यस कार्यक्रमले उत्पादनलाई बजारसँग जोडेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र रहेका उद्योगहरुलाई बाह्य औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने प्रस्ताव आएको छ। स्थानान्तरण हुने उद्योगहरुलाई विशेष सहुलियत दिने विषयमा पनि छलफल भएको छ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने प्रस्तावसमेत छलफलमा उठाइएको छ, जसले भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाउने लक्ष्य राखिएको छ। त्यस्तै, झापाको मयुरधाप, मकवानपुर र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने विषयमा पनि प्राथमिकता दिइने भएको छ।

छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

अर्थ मन्त्रालयले अन्य मन्त्रालय र विभागहरूसँग पनि क्रमशः छलफल गर्दै बजेट कार्यान्वयनलाई गति दिन लागिरहेको जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *