Date

मङ्ल, साउन २०, २०८२
Tue, August 5, 2025

एमआरपीबारे विभाग–व्यवसायी वहस : व्यवसायीले बुझेनन्, सरकारले बुझाउन सकेन !

एमआरपीबारे विभाग–व्यवसायी वहस : व्यवसायीले बुझेनन्, सरकारले बुझाउन सकेन !

काठमाडौं, २० साउन । सरकारले लागू गरेको प्रत्येक वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने प्रावधानलाई पालना गर्ने सम्बन्धमा व्यवसायी र सरकारबीचको बहसले तिब्रता पाएको छ । कतिपय संघ संगठन र सरकारबीच टसल समेत बढेको छ ।

आर्थिक वर्ष २०८२/0८३ बाट लागू गर्ने भनिएको उक्त प्रावधानको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यवसायीबीच दैनिक वहस चलिरहेको छ । विभाग र व्यवसायीबीच दिनहुँ साक्षात्कार एवम वहस चलिरहेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ उपदफा (२) खण्ड (ञ) मा उत्पादकले वस्तुमा लाग्ने सबै प्रकारको कर समावेश गरी एमआरपी लगाउनुपर्ने व्यवस्था छ । तर उक्त व्यवस्थाप्रति व्यवसायीहरु असन्तुष्ट छन् भने सरकार अनिवार्य लागू हुनुपर्ने पक्षमा छ ।

व्यवसायीहरुमा एमआरपी सम्बन्धि ऐन, कानुनको अध्ययनमा कमी भएकाले कार्यान्वयनमा कठिन भएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्य बताउँछन् । नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा उनले अध्ययनको कमीले एमआरपी नयाँ विषय जस्तो भान भएको बताए ।

अध्यक्ष बज्राचार्यले भने, ‘नेपाल सरकारले २०७२ सालदेखि नै एमआरपीको प्रावधान ल्याएको अवस्थामा गत चैत महिनादेखि कार्यान्वयनको पक्षमा गएको छ । व्यावसायीहरुमा एमआरपीको विषयमा गहिरो अध्ययन छैन् । व्यवसायीहरुसँग छलफल गर्दा नयाँ प्रावधान हो की भन्नेमा छन्, सचेतनाको कमी भएको महसुस भएको छ ।’

व्यापकरुपमा सचेतनाका कार्यक्रमहरु गर्दा ललितपुरका व्यवसायीहरु भने छिट्टै एमआरपीका विषयमा प्रस्ट हुनेमा उनी विश्वस्त छन् ।

‘एमआरपीको बारेमा नबुझेर, नियमनको बारेमा अध्ययन नगरेर यस्ता समस्याहरु आएका छन् । ललितपुरका व्यवसायीहरु एमआरपीका प्रावधानहरुका विषयमा प्रस्ट हँुदैछन्,’उनले भने ।

पछिल्लो समय एमआरपी कार्यान्वयनका सम्बन्धमा सरकारले अनुगमनलाई तिव्ररुपमा बढाउँदा व्यापारीहरु त्रसित समेतछन् । अध्यक्ष बज्राचार्य अनुगमनले स्वच्छ बजार बनाउन सहयोग गर्ने र कानुन अनुसार व्यवसाय गर्नेहरु त्रसित हुन नपर्ने बताउँछन् ।  अनुगमनले गलत बाटो, ऐन नियमको विपरित काम गर्नेहरु पनि सही बाटोमा आउने उनको धारणा छ ।

‘उपभोक्ता ठग्न नपाइने अवस्थामा अनुगमन आवश्यक छ । व्यापार व्यवसायीलाई राज्यले नियमन गर्नुपर्छ । नियमन गर्दै गर्दा राम्रोसँग व्यपार व्यवसाय गर्न कानुनको पालना गरोस्, उपभोक्ता वा व्यपारी एकअर्काबाट नठगियोस् भन्ने हिसाबले कानुन बनाइने हो । अनुगमनले व्यापार व्यवसायीहरु तर्सिने होइन । जो व्यवसायीहरु गलत बाटो, ऐन नियमको विपरित काम गर्छन् उहाँहरु तर्सिने हो,’उनले भने ।

जनमानसमा सचेतना बढाउन सके एमआरपी कार्यन्वयन हुने भन्दै उनले भने, ‘अनुगमनले व्यापारलाई स्वच्छ बनाउछ र यसले एमआरपी लागु गर्न सहज बनाउँछ । सरकारबाट कार्यन्वयन गरिसकेको र कानुनमार्फत पनि सम्बोधन हुँदै गर्दा उपभोक्ताको हितको लागि पनि यो कार्यन्वयन हुन्छ ।’

अध्यक्ष बज्राचार्यले एमआरपी व्यवहारिक रुपमा जटिलताहरु रहेको र त्यसलाई कानुनले सम्बोधन गरेर लानुपर्ने बताए ।

नीतिगत अन्योलका कारण एमआरपीलाई तत्काल कार्यान्वयन लान हुने ललितपुर उद्योग विणिज्य संघको कार्यकारी सदस्य तथा वाणिज्य तथा आपूर्तिको संयोजन प्रविण ताम्राकार बताउँछन् । एमआरपी आजको अवस्थामा चुनौतीपूर्ण रहेको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने उनको धारणा छ ।

ताम्राकारका अनुसार आयातित सामानमा लगाइने भ्याट बिलका कारण व्यवसायीले आफ्नो मार्जित कति राख्ने कानुनमा स्पस्ट छैन् ।

उनले भने, ‘यसमा सरकारको नीतिगत धारणामा व्यापारीहरुलाई मर्का परिरहेको छ । त्यसमा माथिबाटै गर्नुपर्ने पहलहरु केही भएको छैन । आयात गर्दा जुन भ्याट बिलहरुदेखी अन्य केही विषयमा सम्बोधन भएको छैन् । बाहिरबाट सामान आयात गर्दा जुन मूल्य आउँछ त्यो मूल्यमा  कति प्रतिशत छ त्यसमा अन्योलता छ । अर्थात १० प्रतिशत वा २० प्रतिशत राख्ने भन्नेमा अन्योल छ । स्पष्ट छैन ।’

सुन व्यवसायी, हस्तकला, कपडा व्यवसायी, फुटपात व्यवसायी, ठुला महलहरुसँग सरकारी तवरबाट समन्वय नभएको ताम्राकारले बताए ।

‘सुन, हस्तकला, कपडा, फुटपात व्यवसायी, ठुला महलहरुको आफ्नै हिसावले चलिरहेका छन् । कसलाई कसरी समन्वय गर्ने त्यो सरकारले स्पस्ट पार्नुपर्छ । व्यवसायीहरु कतै दर्ता भएको वा आवद्ध भएको कुरा आएको छैन । व्यवसायीहरु न नगरपालिकासँग समन्वय गर्न सकेका छन्, न विभागसँग समन्वय गर्न सकेका छन् । त्यसमा हामी आफै पनि अन्योल छौ,’उनले भने ।

एमआरपी कार्यान्वयन गर्न सरकार र व्यवसायी सबै संस्थाहरुमा गहिरो होमवर्क गर्नुपर्ने उनले बताए ।

यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भने व्यवसायीले आफ्नो नाफा अनुसार मूल्यसूची राख्नुपर्ने बताए ।

‘एमआरपीले बजारमा मूल्यको स्तरमा फरक पारेको छ । फ्रि इकोनमीको आधारमा हामीले भनेका छौ, जतिसुकै प्रतिशतमा नाफा लिन सक्नुहुन्छ । त्यसको अर्थ के हो भने जतिसुकै प्रतिशतमा नाफा लिएपनि अन्तिममा किन्ने त उपभोक्ताले हो । मूल्यसूचीको कुरा कार्यान्वयन गर्न दुई÷तीन वर्ष लाग्छ । यसले विस्तारै बजार प्रतिस्पर्धा बनाउँछ,’उनले भने ।

महानिर्देशक दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्नुपर्ने दोहोर्याए ।

उनले भने, ‘एमआरपी अधिकतम खुद्रा मूल्य व्यापारी र उद्योगपति खुद्रा विक्रेता अथवा आयातकर्ता दुईवटाले मात्र एमआरपी लगाउन पाउँछन् । किनभने उनीहरुलाई त्यो अधिकार छ । आयातकर्ताको आयातित सामान र उद्योगीको उद्योगहरुमा उनीहरुको ट्रेडमार्ग हुन्छ,’उनल थप भने,‘ आफ्नो अधिकार हुन्छ । लगानी गरेका हुन्छन् । डिलर र खुद्रा विक्रेतालाई एमआरपी लगाउन भन्दैनौँ तर व्यवसायीहरुले एमआरपी लगाएका बस्तुमात्र विक्री गर्नुपर्छ । अन्यथा त्यो वस्तुलाई शंका गर्छौँ । कतै यो वस्तु चोरीको त होइन भनेर सोच्नुपर्ने हुन्छ ।’

उनले नेपालको ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक बजारमा रमाइरहेकाले एमआरपीको विरोध भइरहेको भन्दै यसलाई लागू गर्नसके मात्र देशको अर्थतन्त्र तीन गुणाले बढ्ने बताए ।

तर विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिम स्वदेशी तथा आयातित सम्पुर्ण बस्तुहरुमा खुद्रा विक्री मुल्य एमआरपी सहितको लेवल राख्नका लागि गरेको सूचना एवं विभागले हाल गरिरहेको बजार अनुगमन र अनावश्यक कारवाहीले शिथिल भईरहेको एवं बिग्रदै गईरहेको औद्योगिक वातावरण झनै बिग्रने भन्दै केही संघ संस्थाले आपत्ति समेत जनाइरहेका छन् । तर सरकारले यसलाई जसरी कार्यान्वयनमै ल्याएर छाड्ने भन्दै कडाइका साथ बजार अनुगमन समेत गरिरहेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *