Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

किसानलाई सहज कर्जा : अब बैंक धाउन नपर्ने

किसानलाई सहज कर्जा : अब बैंक धाउन नपर्ने

काठमाडाैं, ९ भदाै । किसान र कृषि व्यवसायीहरूलाई १० लाख रुपैयाँसम्म कर्जा लिन अब बैंक धाउनुपर्ने झन्झट हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको नयाँ निर्देशनले कृषियोग्य जमिन, कृषि संरचना वा कृषि उपजलाई बैंक स्वयं मूल्यांकन गरेरै कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो।

यो सुविधा विशेषगरी खाद्यान्न बाली, तरकारी खेती, पशुपालन, कुखुरापालन, माछापालनजस्ता व्यवसायमा संलग्न किसानलाई लक्षित गरेर ल्याइएको हो। यसपछि ऋणीले धितो मूल्यांकनका लागि बाहिरी मूल्यांकनकर्ता खोज्नुपर्ने छैन र धितो मूल्यांकन शुल्क पनि नलिने व्यवस्था गरिएको छ।

किसानको उत्पादन चक्रअनुसार कर्जाको किस्ता तिर्ने समय मिलाइनेछ। कृषि व्यवसायको प्रकृति हेरी बैंकले पर्याप्त ग्रेस अवधि दिनुपर्ने प्रावधान निर्देशनमा समावेश गरिएको छ। यस अवधिमा पहिलो वर्ष असल कर्जामा ०.२५ प्रतिशत र दोस्रो वर्ष ०.५ प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

कर्जा पुनरावेदनका लागि ब्याज पुँजीकरण गर्न सकिने उल्लेख छ। बैंकले आफूले मूल्यांकन गरेका धितोका आधारमा कर्जा प्रवाह गरेमा आन्तरिक लेखापरीक्षणमार्फत नियमित अनुगमन र मूल्यांकन गर्नुपर्नेछ। यसका लागि ‘प्रडक्ट पेपर’ र धितो मूल्यांकन कार्यविधि तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

यसबाहेक, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका उन्नत जातका बालीमा आधारित कृषि परियोजनामा लगानी गर्न चाहने ऋणीलाई अधिकतम आधार दरभन्दा १.५ प्रतिशतसम्म मात्र ब्याज थप्न पाइने व्यवस्था गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *