Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

बाराही होटलको कारोबार ६५ करोड नाघ्यो, लगातार पाँच वर्षदेखि उच्च वृद्धि

बाराही होटलको कारोबार ६५ करोड नाघ्यो, लगातार पाँच वर्षदेखि उच्च वृद्धि

काठमाडाैं, ११ भदाैं । नेपालका प्रतिस्पर्धात्मक होटल व्यवसायमा बाराही होटलले निरन्तर सफलता हासिल गर्दै आफ्नो कारोबारमा उल्लेख्य वृद्धि गरेको छ।

होटल बाराहीले सन् २०२५ मा कुल ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष २०२४ मा होटलले ५३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।

लगातार पाँच वर्षदेखि होटलको आयमा उल्लेखनीय वृद्धि हुँदै आएको छ। सन् २०२१ मा १ करोड ७० लाख रुपैयाँ बराबरको कारोबारबाट सुरु भएको होटलले २०२२ मा ११ करोड ७० लाख, २०२३ मा २२ करोड ९० लाख, २०२४ मा ५३ करोड ९० लाख र २०२५ मा ६५ करोड रुपैयाँभन्दा बढी कारोबार गरेको हो।

ग्राहक सन्तुष्टि र ‘नेपालमै उत्पादन, नेपाली स्वाद, अन्तर्राष्ट्रिय सेवा’ भन्ने नारालाई प्रमुख आधार बनाएर होटल अघि बढिरहेको छ। अध्यक्ष हरिप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित बाराही समूहले पोखराको लेकसाइड र काठमाडौंको ठमेलमा सुविधा सम्पन्न शाखा सञ्चालन गर्दै आएको छ भने चितवनमा समेत विस्तार गरेको छ।

होटलको कोठा उपयोग दर (अकुपेन्सी रेट) हाल करिब ७५ प्रतिशत पुगेको छ, जुन २०२४ मा ७८ प्रतिशत थियो। आम्दानीको प्रमुख स्रोत कोठा भाडा रहेको र यस खण्डको आम्दानीमा मात्रै ३१ प्रतिशत वार्षिक वृद्धि भएको होटलले जनाएको छ।

लगानीकर्तामध्ये प्रमुख रूपमा पौडेल परिवार रहेको छ भने केही हिस्सा ‘बाराही हाउजिङ एन्ड लिजिङ’को पनि छ। हालै होटलले इक्रा नेपालमार्फत एक अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जाको लागि क्रेडिट रेटिङ पनि गराएको छ। यसमा १ अर्ब २९ करोड दीर्घकालीन र ३ करोड अल्पकालीन कर्जा समावेश छन्। इक्राका अनुसार होटलले अल्पकालीन कर्जामा ‘एनबिबी माइनस’ र दीर्घकालीन कर्जामा ‘एफोर’ रेटिङ पाएको छ।

बाराही होटल समूहले नेपाली पर्यटन उद्योगमा निरन्तर वृद्धि र विस्तार गर्दै आगामी दिनमा अझ उच्च लक्ष्य लिने संकेत गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *