पुटिनले युक्रेन युद्धको आरोप पश्चिममाथि लगाउँदै एससिओ सम्मेलनमा बोले

काठमाडाैं, १६ भदाै । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकमाथि तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाएका छन्।
पुटिनले भने, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए।” उनले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको स्मरण गराए।
पुटिनका अनुसार त्यसपछिका घटनामा मस्कोले क्रिमियन प्रायद्वीप आफ्नो क्षेत्रमा समेट्यो र पूर्वी युक्रेनमा रूसी समर्थक पृथकतावादीलाई समर्थन गरे, जसले गृहयुद्ध भड्कायो। उनले “सङ्कटको अर्को कारण युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो।” पनि बताएका छन्।
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका नेताहरू सहभागी थिए। पुटिनले एससिओलाई नाटो र पश्चिमी सुरक्षा ब्लकको विकल्पका रूपमा प्रस्तुत गर्दै, “विश्वले पुरानो युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशको हितलाई ध्यान दिने प्रणाली आवश्यक छ” भने।
पुटिनले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन सङ्कट समाधानमा महत्त्वपूर्ण ठहराएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किभ दुवैलाई युद्ध अन्त्य गर्न सम्झौतामा आउन आग्रह गरेका छन्। तर पुटिनले युद्धविरामको आह्वान अस्वीकार गर्दै युक्रेनलाई थप भू–भाग त्याग्न र पश्चिमी समर्थन छोड्नुपर्ने माग राखेका छन्। किभले युद्ध सुरु नगरेको दाबी गर्दै ती माग अस्वीकार गरेको छ।
पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका वार्ताबारे द्विपक्षीय बैठकमा छलफल गर्ने जानकारी दिए। साथै उनले प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारी गरेको जनाएका छन्।