नेपाल अब रेमिट्यान्स दिने देश पनि

काठमाडाैं, १८ भदाै । नेपालको अर्थतन्त्र रेमिट्यान्समा अडिएको कुरा नयाँ होइन। तर अब नेपाल केवल रेमिट्यान्स भित्र्याउने मात्र नभई ठूलो परिमाणमा रेमिट्यान्स बाहिर पठाउने देशसमेत बन्दै गएको छ।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र नेपालबाट ११ अर्ब १७ करोड २३ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स विदेशी कामदारहरूले आफ्नो मुलुकमा पठाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ८४.३५ प्रतिशतले बढी हो र हालसम्मकै उच्च हो। अघिल्लो वर्ष नेपालबाट ६ अर्ब ६ करोड रुपैयाँ बाहिरिएको थियो।
यता, सोही अवधिमा भने नेपालले १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढी हो।
नेपालमा हाल ठूला पूर्वाधार आयोजनाहरू, जलविद्युत् परियोजनाहरू र विदेशी लगानीमा सञ्चालित उद्योगहरूमा विदेशी श्रमिकहरूको संलग्नता बढ्दो क्रममा छ। यी श्रमिकहरूले कानुनी प्रावधानअनुसार आफ्नो कमाइको ७५ प्रतिशतसम्म रकम स्वदेश पठाउन सक्छन् भने बाँकी नेपालमै खर्च गर्नुपर्ने व्यवस्था छ। तर अनौपचारिक रूपमा काम गर्ने विदेशी कामदारहरूको कमाइ भने तथ्यांकमा समावेश छैन।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५–७६ पछि मात्रै नेपालबाट ५८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स बाहिरिएको छ। पछिल्ला वर्षहरूमा यो दर लगातार बढ्दो छ।
नेपालमा विशेषगरी चिनियाँ र भारतीय श्रमिकहरू ठूला निर्माण र पूर्वाधार परियोजनामा सक्रिय छन्। खुला सिमानाका कारण ठूलो संख्यामा भारतीय मजदुरहरूले साना व्यापारदेखि ठूला निर्माण कार्यसम्म संलग्न भई कमाएको रकम प्रत्यक्ष आफ्नो देश लैजाने गरेका छन्। तर यस्ता रकम राष्ट्र बैंकको औपचारिक तथ्यांकमा नपरेकाले वास्तविक बाहिरिने रेमिट्यान्स अझै धेरै हुनसक्ने अनुमान गरिएको छ।