जेनजी आन्दोलनमा अटो शोरुममा ठूलो क्षति

काठमाडाैं, २५ भदाै । जेनजी आन्दोलनका क्रममा देशभरका संवेदनशील स्थान र निजी क्षेत्रमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन्। संघीय संसद भवन, सिंहदरवार, अदालत र केही बैंक तथा वित्त कम्पनीहरूमा समेत क्षति पुगेको छ।
विशेषगरी काठमाडौंको थापाथली लगायत प्रमुख स्थानमा रहेका अटो शोरुमहरूमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। महिन्द्रा, सुजुकी, हुन्डाइ, टाटा, सीजी लगायतका शोरुममा भएको आगजनीले गाडीहरू र भौतिक सम्पत्ति जलेर नष्ट भएका छन्। अधिकांश शोरुम पूर्ण क्षति भएको र लाखौं मूल्यका गाडीहरू खरानी भएको व्यवसायीहरूले बताएका छन्।
आन्दोलनका क्रममा सुरक्षाकर्मी, सरकारी कर्मचारी र व्यवसायीहरू सबै संकटमा परेका छन्। अटो व्यवसायीहरूले भने क्षतिको ठोस आँकडा उपलब्ध गराउन नसकेको जानकारी दिएका छन्। अहिले सबै कम्पनीहरूले छुट्टाछुट्टै मूल्यांकन गर्दै क्षतिको विवरण संकलन गरिरहेका छन्।