अन्तरिम सरकारका तीन मन्त्रीले लिए सपथ

काठमाडाैं, ३० भदाै ।
जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको छ ।
ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ, गृहसहित कानुन मन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री सम्हालेका रामेश्वर खनालले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेछिन् ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
मन्त्रिपरिषद्मा आएका यी तिनै पात्र विषय विज्ञ हुन् । गृहसहित कानुन मन्त्री सम्हालेका अर्याल कानुनविद् हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि उनी चर्चामा आएका थिए । उनी हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्।
सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए । शपथ ग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए ।
त्यस्तै, पूर्वअर्थसचिव खनाल देशको अर्थतन्त्रका ज्ञाता हुन् । अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा जानकार उनी यो परिस्थितीमा उपयुक्त पात्र मानिन्छन् ।
ऊर्जामन्त्रीमा अर्को नाम कुलमान घिसिङलाई नचिन्ने प्रायः कोही होलान् । उनी उज्यालो नेपालका नायक मानिन्छन् । आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि मात्रै केपी शर्मा ओली सरकारले नै प्राधिकरणबाट बर्खास्त गरेको थियो।