Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

आन्दोलनले अटोमोबाइल उद्योग संकटमा : नाडाको सरकारलाई आग्रह

आन्दोलनले अटोमोबाइल उद्योग संकटमा : नाडाको सरकारलाई आग्रह

काठमाडाैं, ३० भदाै । हालै देशव्यापी रूपमा भड्किएको आन्दोलन र प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर पारेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ। उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारस्तम्भ मानिने यो क्षेत्र कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाका दृष्टिले चिन्ताजनक अवस्थामा पुगेको भन्दै नाडाले गम्भीर ध्यानाकर्षण गराएको हो।

नाडाले व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिई अटोमोबाइल क्षेत्रलाई छिट्टै सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ। हालको अस्थिर परिस्थितिले उपभोक्ताको विश्वासमा नकारात्मक असर पारेको र यसको दीर्घकालीन प्रभाव लगानी तथा रोजगारीमा पर्न सक्ने चेतावनी पनि नाडाले दिएको छ।

सदस्य कम्पनी, उपभोक्ता र समग्र अटोमोबाइल उद्योगको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै नाडाले जिम्मेवार नेतृत्व, सकारात्मक संवाद र एकताबद्ध प्रयासमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै नाडाले प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा प्रकट गर्दै मुलुकमा शान्ति र स्थायित्व कायम होस् भन्ने अपेक्षा व्यक्त गरिएको छ।

यसैबीच, देशको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की चयन भएको अवसरमा नाडाले शुभकामना प्रकट गर्दै नयाँ नेतृत्वले स्थिरता र विकासको बाटोमा देशलाई अघि बढाउने विश्वास प्रकट गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *