Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

बजार खुल्ने वित्तिकै चार प्रतिशत घटेकाे सेयर बजारमा दोस्रो सर्किट ब्रेक

बजार खुल्ने वित्तिकै चार प्रतिशत घटेकाे सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडाैं, २ असोज । लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक लागेको छ। सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो।

२० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो। यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।

नेप्से एक सय ३३ अंक पाँच प्रतिशत ले घटेर नेप्से २५३८ विन्दुमा आएको छ। यो अवधिसम्म २८ करोड रूपैयाँको सेयर किनबेच भएको छ।

बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ।

त्यस्तै, दुई घण्टा भित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ।

भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आकलन गरिँदै आएको छ।

बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ।

अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन्। बाँकी भार नेपाली पुनर्बीमा (रि इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन्।

अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरी दुइटा पुनर्बीमा कम्पनी छन्। यी कम्पनीले पनि दाबीको केही भार आफै लिन्छन्, केही विदेशी पुनर्बीमा कम्पनीमा सारेका हुन्छन्।

यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा सारेको आकलन भए पनि कति सारेका छन् भन्ने जानकारी बीमा प्राधिकरणसँग छैन। तैपनि अहिले विभिन्न पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरणले जनाएको छ।

यही कारण हिमालयन रि इन्सुरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ। हिमालयन रिको आठ सय ७८ रूपैयाँमा सेयर कारोबार भएको हो। नेपाल रि इन्सुरेन्सको पनि सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर मूल्य एक हजार चार सय ६८ रूपैयाँका कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *