जेनजीका प्रभावित उद्योगीलाई रिफाइनान्सिङ आवश्यक: दीपक मल्होत्रा

काठमाडाैं, ७ असाेज । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनले समस्यामा परेका उद्योगीलाई तत्काल रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा उनले अहिलेको परिस्थितिले उद्योगी–व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्ने औँल्याए।
मल्होत्राले भने, “यो समस्या भूकम्प वा कोभिड–१९ भन्दा फरक छ। सरकारले पुनरोत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक छ।” उनले राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउनुपर्ने पनि जोड दिए।
उद्योगीहरूले भोगिरहेको समस्या दुई पक्षीय भएको उनले बताए। एकतर्फ देशको पैसा विदेश पलायन भइरहेको छ भने अर्कोतर्फ दक्ष युवा विदेशिने क्रम बढेको छ। उनले ११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएको तथ्याङ्क उल्लेख गर्दै नेपालमा जनशक्ती घट्दो अवस्थामा रहेको बताए।
मल्होत्राले उपेन्द्र महतोको घरमा भएको तोडफोडको घटनालाई उदाहरण दिँदै व्यवसायीको सम्पत्तिमा नकारात्मक टिप्पणीले नेपालमा व्यवसाय सुरक्षित नभएको सन्देश जाने खतरा औँल्याए।
उनले निष्कर्षमा भने, “उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड हुन्। सरकारले उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ।”