शंकर पोखरेलले भने– सरकार ज्ञानेन्द्र शाह तरिकाको चुनाव गराउने बाटोमा लाग्यो

काठमाडौं, २३ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दललाई विश्वासमा नलिएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार (असोज २३) पार्टीको भक्तपुर जिल्ला कमिटीले गुन्डुमा आयोजना गरेको एक कार्यक्रममा उनले शान्ति सुरक्षाको सम्पूर्ण अख्तियारी नदिएसम्म चुनाव हुन नसक्ने पनि बताए ।
उनले ‘सुरक्षा निकायको मनोबल नउठाउँदासम्म चुनाव कसरी हुन्छ ?’ भनेर प्रश्न गरे । सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको तरिकाले निर्वाचन गराउने बाटोमा अघि बढेको उनले टिप्पणी गरे ।
“सरकार राजनीतिक दलको विश्वास जित्ने कुरामा होइन, राजनीतिक दलहरूलाई किनारा लगाएर ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अघि बढ्न खोजिरहेको छ,” उनले भने ।
उनले अगडि भने, “आफ्ना मान्छेहरूलाई भूमिगत गिरोहले चुनावमा जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको योजना अँध्यारो कोठामा बसेर बनाउने काम भइरहेको छ ।”
उनले ‘गृहमन्त्री ओमप्रकाश अर्याल राज्य चलाउन खोजिरहेका छन् कि विप्लव (उपद्रव) गराउन खोजिरहेका छन् ?’ भनेर प्रश्न गरे ।