जेनजी आन्दोलन क्षतिको २३ अर्ब २२ करोडको बिमा दाबी

काठमाडौं, २३ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकम सबै निर्जीवन बिमा कम्पनीमा गरी २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
बुधबार (असोज २२ गते) सम्म १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल तीन हजार ९९ वटा बिमा दाबीको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम पुगेको हो ।
यस तथ्यांकलाई निर्जीवन बिमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणमा बुझाएका छन् ।
निर्जीवन बिमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्म अग्रिम भुक्तानीसमेत गरी एक अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।
निर्जीवन बिमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्म दुई हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी प्राधिकरणमा दिएका छन् ।