पूर्व डीआईजी सुवेदीमाथि सामाजिक सञ्जालमा गलत सूचना फैलाएको उजुरी

काठमाडाैं, २७ असाेज । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) देवेन्द्र सुवेदीविरुद्ध सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा उजुरी दर्ता गरिएको छ।
सुवेदीले सामाजिक सञ्जालमा गरेको पोस्टमा जेन जेड आन्दोलनको क्रममा गत सेप्टेम्बर ९ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आगजनी हुनु दुई दिनअघि रु २ करोडसहितका दुई ट्रक लुकाइएको दाबी गरिएको थियो।
यही विषयमा प्रचण्डको सचिवालयको तर्फबाट नेपाल प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी दिइएको हो। उजुरीमा सो जानकारी असत्य, भ्रामक र जनमानसमा भ्रम फैलाउने उद्देश्यले गरिएको आरोप लगाइएको छ।
सचिवालयले साइबर अपराधसम्बन्धी प्रचलित कानुनअनुसार यसलाई दण्डनीय अपराधको दायरामा पर्ने भन्दै पूर्ण अनुसन्धान गर्न आग्रह गरेको छ। साथै, उजुरीमा आरोप प्रमाणित भए कानुनी कारबाही गर्न पनि माग गरिएको छ।
साइबर ब्यूरोले उजुरी दर्ता भइसकेको र प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।