“अर्थमन्त्री खनालको अमेरिका भ्रमण : विश्व बैंक र आइएमएफसँग सहयोग सुदृढ गर्ने प्रतिबद्धता”
काठमाडाैं, २८ असाेज । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उप–प्रवन्ध निर्देशक बो लीसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् ।
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुँदै अर्थमन्त्री खनालले विश्व बैंकका बेजर्डेसँगको भेटमा नेपालमा जेन जी समूहको प्रदर्शनपछि बनेको सरकारको प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै सुशासन र उत्तरदायित्व प्रवद्र्धन रहेको बताएका छन् ।
खनालले व्यवसायिक वातावरण सुधारका लागि आवश्यक संस्थागत र प्रक्रियागत सुधार र कानुनी सुधारमा पूर्वतयारी गर्ने सरकारको कटिबद्धता प्रस्तुत गरे । विश्व बैंकले नेपालको विकास प्रयासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
उप–प्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले आईएमएफको नेपालको आर्थिक सुधारमा गरेको सहयोगको सराहना गर्दै, विस्तारित कर्जा सुविधा सम्बन्धी बाँकी सुधारका कार्य अघि बढाइने र कोषसँगको सहकार्य अझ मजबुत बनाइने बताएका छन् । बो लीले छैठौं समीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै आगामी आर्थिक सुधारमा निरन्तर सहयोग रहने बताए ।
यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि उपस्थित थिए । सोही दिन अर्थमन्त्री खनालले नेपाल–अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै लगानीयोग्य वातावरण निर्माणमा सरकार दृढ रहेको जानकारी दिए ।
खनालले कर सम्बन्धी कानुनका अस्पष्टता हटाइने, नाफा फिर्ता प्रक्रिया सरलीकरण गरिने र लगानी स्वीकृत तथा व्यवसाय बन्द गर्ने प्रक्रिया सहज बनाइने विश्वास दिलाए । विभिन्न कम्पनीका प्रतिनिधिहरूले नेपालमा कर कानुन र अन्य नियामक निकायका निर्णयले लगानीकर्तालाई असहज बनाएको पनि उल्लेख गरेका थिए ।
अर्थमन्त्री खनालले भने, “कर कानुनको तर्जुमा गर्दा पर्याप्त छलफल गरिनेछ र अन्य विषयमा पनि नीतिगत र कानुनी सुधार गर्दै लगिनेछ।”
सोही दिन उनले विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुटसँग भेटेर नेपालमा सञ्चालित विकास आयोजना र कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरेका छन् ।



