Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

जेनजी आन्दोलनको क्षतिमा बीमा कम्पनीद्वारा झन्डै २ अर्ब भुक्तानी

जेनजी आन्दोलनको क्षतिमा बीमा कम्पनीद्वारा झन्डै २ अर्ब भुक्तानी

काठमाडाैं, ३० असाेज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशभरका निजी र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको थियो। आगजनी र तोडफोडका कारण नष्ट भएका गाडी र संरचनाको क्षति भर्ने क्रममा बीमा कम्पनीहरुले अहिलेसम्म झन्डै २ अर्ब रुपैयाँ दावी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरका दावी दर्ता भएका छन्। तीमध्ये कम्पनीहरुले अग्रिम भुक्तानीसहित १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

सबैभन्दा धेरै दावी सम्पत्ति बीमा अन्तर्गत परेको छ — १९ अर्ब ७१ लाख रुपैयाँ बराबरका ६७३ दावी दर्ता भएका छन्। यसमध्ये कम्पनीहरुले हालसम्म १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

मोटर बीमा अन्तर्गत २ हजार २५६ वटा दावी परेको छ, जसको रकम ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको छ। सो मध्ये ३६ करोड २५ लाख रुपैयाँ भुक्तानी दिइसकिएको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ३३ करोड १८ लाख रुपैयाँ बराबरका दावी दर्ता भएका छन् भने ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
परिवहन बीमामा १ करोड ६३ लाख र अन्य बीमामा ३८ करोड ८६ लाख रुपैयाँ बराबरका दावी दर्ता भएका छन्।

बीमा प्राधिकरणका अनुसार, सबैभन्दा बढी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ — कम्पनीले ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको छ। सिद्धार्थमा ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरका दावी दर्ता भएका थिए।

दोस्रो स्थानमा शिखर इन्स्योरेन्स छ, जसले ४२ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ। शिखरमा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरका दावी दर्ता भएका छन्।

त्यसपछि आइजिआई प्रुडेन्सियलले ३० करोड ७६ लाख, हिमालयन एभरेष्टले २४ करोड ५३ लाख, नेकोले ८ करोड ३९ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख, सगरमाथा लुम्बिनीले २ करोड ७९ लाख र युनाइटेड अजोडले १ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

बीमा प्राधिकरणले भनेको छ, “दावी दर्ता र भुक्तानी दिने क्रम निरन्तर जारी छ। क्षतिको वास्तविक मूल्याङ्कनपछि थप भुक्तानी हुनेछ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *