सिद्धार्थ बैंकको २४औं वार्षिक सभा कात्तिक ३० गते, लाभांश पारित गर्ने तयारी

काठमाडाैं, २ कार्तिक । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो चौबीसौं वार्षिक साधारण सभा कात्तिक ३० गतेका लागि आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि आइतबार बिहान १० बजे सभा बोलाएको हो।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। उक्त प्रस्ताव पारित भएसँगै बैंकका शेयरधनीले बोनस र नगद दुवै लाभांश प्राप्त गर्नेछन्।
त्यसका साथै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ सञ्चालक नियुक्त गर्ने, सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएको खर्च अनुमोदन गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनी मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
सिद्धार्थ बैंकले विगतका वर्षहरूमा पनि स्थिर लाभांश वितरण गर्दै आएको छ। यसपटकको सभा बैंकको वित्तीय स्थायित्व, लाभांश नीति र आगामी व्यवसायिक योजना तय गर्ने दृष्टिले महत्वपूर्ण हुने बताइएको छ।