भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनदेखि असोज मसान्तसम्म २ हजार ६२० युनिट इभी आयात भएका छन्, जसको कुल मूल्य ६ अर्ब २५ करोड ५ लाख रुपैयाँ बराबर पुगेको छ। तीमध्ये असोज महिनामा मात्रै ४ अर्ब ९७ करोड २१ लाख रुपैयाँ बराबरका इभी नेपाल भित्रिएका हुन्।
विभागका अनुसार हाल नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटसम्मका क्षमताका इभी आयात भइरहेका छन्। चीन, भारत, थाइल्याण्ड, जर्मनी, अमेरिका र दक्षिण कोरिया लगायतका देशबाट विभिन्न ब्रान्डका इभी नेपाल आएका हुन्।
तीमध्ये सबैभन्दा ठूलो हिस्सा चीनबाट आयात भएको छ। तीन महिनामा चीनबाट मात्र १ हजार ९३७ युनिट इभी नेपाल भित्रिएका छन्, जसको मूल्य ४ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ बराबरको छ। त्यसपछि भारतबाट ४६३ युनिट (९५ करोड ५४ लाख रुपैयाँ), थाइल्याण्डबाट २०१ युनिट (५६ करोड ४३ लाख रुपैयाँ), अमेरिकाबाट ११ युनिट (४ करोड ८१ लाख रुपैयाँ), जर्मनीबाट ५ युनिट र दक्षिण कोरियाबाट २ युनिट इभी भित्रिएका छन्।
इभी आयातबाट सरकारले तीन महिनामा ३ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ।
क्षमताका आधारमा हेर्दा, सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका इभी नेपाल भित्रिएका छन्, जसको संख्या १ हजार ५४५ युनिट पुगेको छ। त्यसपछि ५० किलोवाटका ७५१ युनिट, १०१ देखि २०० किलोवाटका ३२३ युनिट, र २०१ देखि ३०० किलोवाटका १ युनिट नेपाल आएका छन्।
नेपालमा बढ्दो इन्धन मूल्य र विद्युतीय सवारीप्रतिको आकर्षणसँगै इभी बजार तीव्र विस्तार हुँदै गएको देखिन्छ। सरोकारवालाहरूका अनुसार यो प्रवृत्तिले आगामी वर्षहरूमा नेपालमा हरित यातायातको आधार बलियो बनाउने अपेक्षा गरिएको छ।