‘डेमोक्रेटिक जेनेजी फोरम’ गठन, लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने युवाहरू एकजुट
काठमाडाैं, १६ कार्तिक । लोकतान्त्रिक मूल्य र विश्वासमा आस्था राख्ने युवाहरूको नयाँ संस्था ‘डेमोक्रेटिक जेनेजी फोरम’ गठन गरिएको छ। आइतबार सार्वजनिक गरिएको यस फोरमको समन्वयक सुरेन्द्र भण्डारी रहेका छन्।
फोरमले देशभरका लोकतान्त्रिक सोच भएका युवालाई एउटै साझा मञ्चमा ल्याउने लक्ष्य लिएको छ। गठन भएको कार्यसमितिमा पूजन चाम्लिङ राई (इलाम), ऋषा थापा (ललितपुर), सरोज बिष्ट (अछाम), बिशाल शाही (हुम्ला), कुम्भराज सहयोगी देउवा (कालिकोट), जनक साउद (दैलेख), लक्ष्मीप्रसाद पौडेल (पोखरा), महेन्द्र कुँवर, रामेश न्यौपाने (दैलेख), सुनिता मल्ल (मुगु), सतेन्द्र यादव, विनोद उपाध्याय (धादिङ) र निरञ्जन रोहिता (धनुषा) लगायत विभिन्न जिल्लाका युवा सदस्यहरू रहेका छन्।
फोरमको उद्घोषअनुसार, यसको उद्देश्य लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता, समावेशिता, संघीयता, गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यहरूलाई मजबुत रूपमा बचाउने र प्रवर्द्धन गर्ने हो।
फोरमले लोकतन्त्रका यी आधारस्तम्भहरू कमजोर पार्ने कुनै पनि प्रयास वा षड्यन्त्रको विरोधमा दृढ रूपमा उभिने प्रतिज्ञा गरेको छ।
समन्वयक भण्डारीका अनुसार फोरमले विगतका कमजोरीहरूको आत्ममूल्यांकन गर्दै, गल्ती नदोहोर्याई परिष्कृत र परिपक्व लोकतन्त्रतर्फ देशलाई अघि बढाउने लक्ष्य राखेको छ।
उनका अनुसार हाल सातवटै प्रदेश र ७७ वटै जिल्लामा प्रदेश तथा जिल्ला समन्वयकर्ता नियुक्त गर्ने तयारी भइरहेको छ, जसबाट लोकतान्त्रिक आस्थाका जेनेजी पुस्ताका युवालाई संगठित रूपमा जोड्ने अभियान सुरु गरिनेछ।
फोरमका सदस्यहरूका भनाइअनुसार, यो पहल राजनीतिक दलभन्दा माथिको लोकतान्त्रिक आस्था र उत्तरदायित्वमा केन्द्रित युवाको स्वतन्त्र अभियान हो, जसले नयाँ पुस्तालाई सक्रिय लोकतान्त्रिक भूमिकातर्फ प्रेरित गर्नेछ।



