नेपाल सरकार र विश्व बैंकबीच १५ करोड ५७ लाख डलर ऋण तथा अनुदान सम्झौता
काठमाडौं, २८ कात्तिक । नेपाल सरकार र विश्व बैंकबीच २ वटा परियोजना सञ्चालनका लागि ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । कुल १५ करोड ५७ लाख अमेरिकी डलर बराबरको सम्झौतामा अर्थ सचिव राजन खनाल र विश्व बैंकका प्रतिनिधि क्विमिओ फानले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएको रकममध्ये १३ करोड ३० लाख डलर ऋणको रुपमा सुरक्षित तथा भरपर्दो पुल निर्माण तथा स्तरोन्नत्तिका लागि खर्च हुने विश्व बैंकले जनाएको छ । २ करोड २७ लाख डलर भने अनुदानको रुपमा निम्न आय भएका समुदायको खाद्य सुरक्षा तथा आम्दानीको श्रोत विविधिकरण गर्नमा खर्च हुने बताइएको छ ।
पुल निर्माण तथा स्तरोन्नत्ति परियोजनाले नेपालमा कुल ४ सय ७७ वटा पुललाई समेट्नेछ । यसमध्ये ९० वटाको मर्मत गर्ने र १ सय ८० वटामा दुर्घटनाबाट सुरक्षित बनाउन स्तरोन्नत्ति गर्ने योजना रहेको विश्व बैंकले जनाएको छ । यसैगरी, २ लेन भएका ८० वटा र ४ लेन भएका ३५ वटा नयाँ पुलको निर्माण पनि हुनेछ । साथै, ९२ वटा पुलहरुको निर्माण सम्पन्न गर्न विश्व बैंकले सडक विभागलाई सहयोग गर्नेछ । २ करोड २७ लाख डलर बराबरको अनुदानबाट ६५ हजार जनाले स्वास्थ्य सुधारका लागि प्रत्यक्ष लाभ लिने विश्व बैंकले उल्लेख गरेको छ ।