सेयर बजारमा अनलाइन कारोबार प्रभावकारी भएन, ठुला लगानीकर्ता विस्थापित हुँदै
काठमाडौं, १२ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत कात्तिक २० गते देखि सेयर बजारमा स्वचालित अनलाईन कारोबार प्रणाली सुरु गरेको थियो । करिब २ बर्षको पर्खाइ र दुई महिना सम्मको परिक्षण पछि अनलाइन कारोबार संचालनमा ल्याएपछि सेयर बजारको दायरा थप विस्तारित हुनुका साथै बजारमा समेत सुधार आउने अपेक्षा आम लगानीकर्ताहरुको थियो ।
तर अहिले अनलाईन प्रणालीमा कहिले सेयर बेच्न नमिल्ने त कहिले सेयर नै नदेखाउने गरेको गुनासो उपभोक्ताको छ । यस्तो समस्याले गर्दा आफुहरुको लगानी जोखिममा रहेको भन्दै विभिन्न चार संघमा आवद्ध लगानीकर्ताहरुले गत सोमबार नेप्से नै घेराउ गरे । पूर्ण स्वचालित भनेको इन्टरनेटको पहँुच पुगेको स्थानबाट लगानीकर्ता आफैले सेयर किनबेच सक्ने अवस्था हो । तर लगानीकर्ताले अझै युजर नेम र पार्सवड समेत नपाएको गुनासो गरेका छन् ।
नेप्से भने ब्रोकर तथा लगानीकर्ताहरुले अनलाईन प्रणाली नबुझेका कारण लगानीकर्ताहरुलाई समस्या भएको बताउछ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अनलाईनको परिक्षण अवधीमा कोही पनि ब्रोकर तथा लगानीकर्ताहरु उपस्थित नभएको बताए । अहिले अनलाई कारोबारको सुरुवाती चरण भएको भन्दै उनले सुरुमा सिस्टम अपडेट हुँदा केही समस्याहरु देखिएको भएपनि बिस्तारै सबै राम्रो हुदै जाने बताउछन् । उनी भन्छन्–“ परिक्षणमा हामीले सम्बन्धित सबैलाई बोलाएका थियौ तर व्यापक उपस्थिती नभएको परिमाण स्वरुप नै आजको स्थीति सृजना भएको हो । लगानीकर्ताहरुले सिस्टम बुझेका छैनन् अनलाईन कारोबार कसरी गर्ने नै कत्तिलाई थाहा छैन त्यो त उनीहरुले बुझ्ने कुरा हो, हामी तिर्खा लागेको मान्छेलाई खोला सम्म पु¥याउन सक्छौ तर पानी नै खुवाईदिन त सक्दैनौ नि ।”
मंसिर २३ गते सम्म अनलाईन प्रणालीमा देखिएको समस्या समाधान गर्नुका साथै युजर नेम र पार्सवड उपलब्ध गराउने प्रतिवद्धता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत सोमबार नै लगानीकर्ताहरुसँग गरिसकेका छन् । तर नेप्सेका प्रवक्ता पराजुली २३ गते सम्म अन्य प्राविधिक समस्याहरु हल गरेपनि लगानीकर्ताहरुलाई युजर नेम र पार्सवोर्ड भने उपलब्ध गराउन नसक्ने बताउछन् ।
उसो त नेप्सेले संचालन गरेको परिक्षण कार्यमा आफुहरु सहभागि नभएको कारण प्रयोगमा समस्या आएको स्वयंम लगानीकर्ताहरु पनि स्विकार गर्छन । नेपाल पुँजी बजार लगानी संघकी अध्यक्ष राधा पोख्रेलले आफु पनि उक्त प्रशिक्षणमा सहभागि नभएको बताइन । हाल सेयर बजारमा १५ लाख लगानीकर्ता छन् । त्यसमध्ये थोरैले मात्र नेप्सेले संचालन गरेको प्रशिक्षण कार्यमा सहभागिता जनाएका थिए ।
अनलाईन कारोबार संचालन भन्दा अगाडि २२ खर्ब रुपैयाँको सेयर बजार हाल १४ खर्ब रुपैयाँमा झरिसकेको छ । नेपालको सेयर बजार कारोबार संचालनमा समस्याहरु उत्पन्न हुने तर समाधान नहुने हुँदा बजार घट्दै गएको अध्यक्ष पोखे्रल बताउछिन् । सोही कारण हाल सेयर बजारमा लगानी गर्ने ठुला लगानीकर्ताहरु विस्तारै विस्थापित भइरहेको गुनासो पनि उनले गरिन ।