चार महिनामा ४८३ अर्बको आयात, २९ अर्बको निर्यात
काठमाडौं , १४ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा आयात ३८ प्रतिशतले वृद्धि भई ४८३ अर्ब ७५ करोड रुपैँया पुगेको छ । समीक्षा अवधिमा निकासी वृद्धिदर भने १० प्रतिशत छ । यो अवधिमा कुल २९ अर्ब २८ करोड रुपैँयाको निकासी भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार निकासी र आयातको अनुपात १ बराबर १६.५ छ । अर्थात नेपालले एक रुपैँयाको निकासी गर्दा १६.५ रुपैँयाको आयात गर्छ । निकासीको तुलनामा १६ गुणा ठूलो आकारको आयातका कारण नेपालको व्यापारघाटा ४० प्रतिशतले वृद्धि भई ४५४ अर्ब ४७ करोड रुपैँया पुगेको छ ।
यस अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु, मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि प्रमुख रहेका छन् ।त्यस्तै, नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, , टर्की, चीन, वंगलादेश, इटाली, जापान, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र डेनमार्क आदि प्रमुख रुपमा रहेका छन् ।
समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, फलाम तथा फलामका उत्पादनहरु, मशिनरी तथा पार्ट्स, यातायातका साधन तथा पार्ट्स, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानहरु, हवाई जहाज तथा पार्टस्, अन्न, तयारी पोशाक, सुन, औषधी प्रमुख आयातका रुपमा रहेका छन् ।
नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइलेण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, , क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् ।