राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष र उपसभामुखका लागि आवास निर्माण गर्ने सरकारको निर्णय
काठमाडौं,२० मंसिर । सरकारले गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले हरेक विहिवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न गरिने नियमित पत्रकार सम्मेलन मार्फत पछिल्लो मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन्।
यस्ता छन् सरकारका निर्णयहरु
- ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने निर्णय र पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका भवन बनाउने ।
- राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माण निर्णय गर्ने ।
- प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाइने ।
- स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेल नियुक्त ।
- प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट प्राप्त ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ अवार्डसहित प्राप्त एक लाख अमेरिकी डलर सोही बराबरको रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने ।
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने
- नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने ।
- नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने । #