मेलम्चीको ठेकेदारले बोर्डलाई पत्र लेख्दै भन्यो– काम सुचारु गर्छौं
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको इटालीयन ठेकेदार कोअपरेटीभा मुरातोरी सेमेन्टेस्टी दी राभेनाले मेलम्ची खानेपानी आयोजना बोर्डलाई पत्र लेखेर काम सुचारु गर्ने जनाएको छ । यसका लागि ठेकेदारलाई सरकारले निकासा गर्नुपर्ने रकम निकासा दिन माग गरिएको छ । गत साता ठेक्का रद्द गरेको इटालियन ठेकेदारको सरकारले बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अघि बढाएछि पुनः छलफल भई कामलाई निरन्तरता दिने सहमति भएको मेलम्ची बोर्डले जनाएको छ ।
मेलम्चीको टनेलमा ९६० मिटर कंक्रिट र लाइनिङको काम बाँकी नै छ । समयमा भुक्तानी नभएका कारण यो अनिश्चिचता आएको इटालीयन ठेकेदारका निकटवर्तीहरु बताउँछन् । इटालियन ठेकेदार सीएमसीले भूकम्पका कारण थप ५७० दिन थप काम गर्नुपर्ने भएकाले थप एक अर्ब ६५ करोड रुपैँया निकासा गर्न माग गरेको थियो ।
गएको असार महिनामा विवाद समाधान समितिले ठेकेदारले माग गरेको समय घटाएर थप २१२ दिन थप गरेको थियो । हेडवर्कतर्फको ६०,००० क्युबिक मिटर खुलाउनका लागि सरकारले २८ करोड रुपैँया निकासा दिएको थियो । यसबाट असन्तुष्ट भएको ठेकेदारले सिंगापुरको अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।
सरकार र ठेकेदारबीच विवाद समाधान समितिले गरेको निर्णयउपर चित्त नबुझे कुनै पनि पक्ष अन्तर्राष्ट्रिय मध्यस्थताका लागि जान सकिने ठेक्का सम्झौतामा उल्लेख छ । सरकारले ठेकेदारले माग गरेको क्षतिपूर्ति नदिदाँ ठेकेदार कम्पनी रुष्ट भएको हो ।