जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रदान गर्ने
काठमाडौं, ३ माघ । जनता बैंक नेपालले उत्कृष्ट भलिबल टिमलाई पुरस्कार गर्ने भएको छ । नेपाल भलिबल संघले माघ ११ गते आयोजना गर्न लागेको दोस्रो एनभिए अवार्ड कार्यक्रममा बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार रकममा संघलाई आर्थिक सहयोग गर्ने भएको हो ।
सोही अनुसार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमणशर्मा बिच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । संझौताअनुसार नेपाल भलिबल संघले एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख (प्रतिटिम रु. एक लाख) जनता बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म बैंकले उपलब्ध गराउने जनाईएको छ ।