Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अबरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित, डा.केसीले मागे प्रधानमन्त्रीको राजिनामा

अबरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित,  डा.केसीले मागे प्रधानमन्त्रीको राजिनामा

काठमाडौं,११ माघ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बीचप्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेस गरेको विधेयक पारित भएको हो ।  बैठको प्राराम्भमा नै नेपाली कांग्रेसका संसदहरुले विरोध गरेका थिए । त्यसपछि सभामुखले नेपाली कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न दिएका थिए ।उहाँले शुशिल कोइराला र गिरिजा प्रसाद कोइरालाको नाममा रहेका अस्पताल संघले जिम्मा नलिएसम्म बैठक संचालन गर्न नदिने बताएपछि कांग्रेसंसदहरुले नारावाजी गर्दै रोष्टम घेरा हाली नाराबाजी गरेका थिए । नाराबजीकै बीच सभामुखले विधेयक अगाडी बढाउन अनुमति दिएपछि अन्तत बैठक बहुमतले पारित गरेको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको बताएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो छलफल, रस्साकस्सी र बहसपछि बहुमतका आधारमा अघि बढाइएको उक्त विधेयकलाई निकै चासोका साथ हेरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकार र प्रा डा केसीबीच गत साउनमा भएको सहमतिको पूर्णरुपमा पालना हुनुपर्ने माग गर्दै सहमतिविपरीत विधेयक अघि बढाइएमा विरोध गर्ने चेतावनी दिँदै आएको थियो ।

सरकारले भने उक्त विधेयकमा प्रा डा केसीले उठाउनुभएका ९५ प्रतिशत माग सम्बोधन गरिएको जिकिर गर्दै आएको छ । पन्ध्रौँ पटकको अनशनका क्रममा सरकार र आफूबीच भएको सहमतिको पूर्ण कार्यान्वयन गर्न दवाव दिन प्रा डा केसी अहिले १६औँ पटकको अनशनमा हुनुहुन्छ ।

चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर हुन सक्ने तनावलाई दृष्टिगत गरी सरकारले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन वरपर सुरक्षा व्यवस्था कडा तुल्याएको थियो । उक्त विधेयक अघि बढाउन बढाउने सन्दर्भमा सहमति खोज्ने क्रममा निर्धारित समयभन्दा करीब एक घण्टा ढिलो अर्थात् अपराह्न २ बजे मात्र बैठक शुरु भएको थियो ।

सभामुखले तटस्थ भूमिका निर्वाह गर्न सकेनन्देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछि बैठकबाट बाहिरिने क्रममा उनले सो प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलबाट सदनको ‘वेल’ घेरिएका अवस्थामा सभामुखले विधेयक पारित प्रक्रिया अघि बढाएर पदको गरिमानुसारको आचरण नगरेको भनी दुःख व्यक्त गरे । “विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन, म प्रधानमन्त्री भएको बेला महाकाली सन्धिको विषयमा मनमोहनजीले ‘वेल’ घेर्दा मैले सदन बन्द गर्न आग्रह गरी वार्ता गरेर अघि बढेको थिएँ”, उनले भने, “ ‘वेल’ घेरेको बेलामा वार्ता गर्नुको सट्टा जबर्जस्ती विधेयक पारित भएको छ, एकलौटी ढङ्गले विधेयक पारित भएको छ ।”

सभापति देउवाले भने “सरकारले काङ्ग्रेसका नेताको नाम मेट्न खोजेको छ, गिरिजाप्रसाद नभएको भए कहाँबाट गणतन्त्र आउँथ्यो, कहाँबाट संविधानसभाबाट संविधान आउँथ्यो, सुशील कोइराला नभएको भए कहाँबाट संविधान जारी हुन्थ्यो ? दुई नेताको मानमर्दन हुने काम गरिएको भनी निन्दा गर्दै उहाँले यस विषयमा सदन र सडकमा काङ्ग्रेसको विरोध कायम रहने बताए ।

ठुलो विजयको अनुभति भएको छ – योगेश भट्टराई 

सदनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले विधेयक पारित भएसँगे चिकित्सा क्षेत्रमा विजयको अनुभति भएको बताएका छन् ।  प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुलाई नेकपा पार्टीका तर्फबाट सम्मान गरिने जनाउँदै त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गरेको बताए । सांसद भट्टराईले आधा दशकदेखि सहमति हुन नसकेको उक्त विधेयक विभिन्न सरकारले विभिन्न कालखण्डमा बनाएको आयोगका मर्म र भावनानुसार आएको उल्लेख गरे ।  उनले भने, “चिकित्सा शिक्षाको सुधारका लागि आन्दोलन गर्दै आउनुभएका डा केसीको भावनालाई पनि विधेयकले कदर गरेको छ, चिकित्सा शिक्षाको क्षेत्रमा यसले क्रान्तिकारी फड्को मारेको छ, पैसा भएर पनि स्वदेशमा पढ्न नपाएका विद्यार्थीका समस्याको अन्त्य भएको छ ।”

यस्तै काङ्ग्रेसका सांसद गगनकुमार थापाले प्रमुख प्रतिपक्षी दलले सदनमा लगातार यो विषय उठाइरहँदा पनि सभामुखबाट छलफलका प्रयत्न नभएको टिप्पणी गरे । “सरकारले आफूसँग दुई तिहाइ बहुमत छ भनेर निषेधको राजनीतिको गरेको पुष्टि भएको छ ।” थापाले भने ।

डा केसी भन्छन् प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ

आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने डा केसीद्धरा जारी विज्ञाप्तिको भनिएको छ । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै डा. केसीको विज्ञप्तिमा यो जनतामाथि नै धोका भएको उल्लेख गरिएको छ । डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै आन्दोलन जारी राख्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x