‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न नाट्टाको माग
काठमाडौं, १५ चैत । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले ‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको हो । नाट्टाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’ स्थापनाको माग गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’को आवश्यक रहेको बताएको थियो ।
नाट्टाले एकमात्र विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारका लागि मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जनकारी दिएको छ । त्यस्तै नाट्टाले तिब्बत, मानसरोवर, कैलाश जाने यात्रुको भुक्तानी अमेरिकी डलरमा लिन पाउने व्यवस्था मिलाउनुपर्ने, पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा मान्यता दिनुपर्ने, बन्द, हड्तालमा निर्वाध रूपमा पर्यटक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने, त्रिभुवन विमानस्थलमा हुने एयर ट्राफिक कम गर्ने व्यवस्था गर्न मागसमेत गरेको छ ।
त्यसैगरी वैकल्पिक विमानस्थल चाँडो सञ्चालन गर्नुपर्ने, पर्यटक बसपार्क निर्माण गर्नुपर्ने, पर्यटकलाई अनलाइन भिसाको व्यवस्था मिलाउनुपर्ने, छ न्यारोबडी र चार वाइडबडी विमान भित्र्याउनुपर्ने, हवाई सेवा पार्किङलाई सहज बनाउनुपर्ने लगायतका माग नाट्टाले राखेको छ ।
नेपाल भ्रमण वर्षलाई सफल पार्न नाट्टाले विभिन्न कार्यक्रम अगाडि सारेको जानकारी दिएको छ ।