Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

काठमाडौंका सडकमा माग्ने नभएको प्रधानमन्त्रीको अपरिपक्क दाबी, सबै माग्ने तत्काल हटाउन असम्भव

काठमाडौंका सडकमा माग्ने नभएको प्रधानमन्त्रीको अपरिपक्क दाबी,  सबै माग्ने तत्काल हटाउन असम्भव

बिआर बुढाथोकी

काठमाडौं, ६ वैशाख । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा काठमाडौंका सडकमा माग्ने नभएको अभिव्यक्ति दिए । उनले अब काठमाडौंका सडकमा माग्ने कसैले देखे प्रहरीलाई खबर गर्नु पनि भन्न भ्याए । माग्ने नियन्त्रण गर्न सरकारले १ करोड रुपैयाँको अक्षय कोषको व्यवस्था गरिदिएको पनि उनले बताए । उनको भनाई थियो –‘अब मागेर खान कसैले पर्दैन । सडकमा कसैले मागेको देख्नु भयो भने प्रहरीलाई भन्नुहोला, प्रहरीले ठीक लगाइदिन्छ ।’

भिख माग्ने मागेकै छन्

केही दिन अघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी अगाडि एक महिला भिख मागिरहेकी भेटिइन् । त्यहाँ प्रधानमन्त्रीको कुरा मिलेन । त्यस्तै अर्को ठाउँ कान्तिपथ (केशरमहल अगाडी) पनि बालबालिकाहरु मागिरहेका दैनिक जसो भेटिन्छन् । यो त एउटा उदाहरण मात्रै हो । काठमाडौंका अति व्यस्त ठाउँहरुमा माग्नेको कमी छैन् । सुन्धारा, रत्नपार्क, कोटेश्वर, कलंकी, बल्खु जस्ता व्यस्त ठाउँहरुमा अझै पनि माग्नेहरु प्रशस्तै भेटिन्छन् । अझ शनिबार भिडभाड हुने मन्दिरहरुमा माग्नेहरुको लाइनै हुन्छ ।

All-focus

माग्ने हटाउन तत्काल सम्भव छैन–एसएसपी लामा
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार काठमाडौंका मागि खानेहरुको व्यवस्थापन गर्न धेरै गाह्रो छ । माग्नेहरुका अनेकौं समस्या भएको र कतिपय भारतबाट आएकाले पनि तिनीहरुलाई व्यवस्थापन तत्काल सम्भव नभएको उनले अर्थको अर्थलाई बताए । उनले भने –‘माग्नेहरु त्यतिकै भिख माग्न बसेका हुँदैनन् । तिनीहरुका पनि अनेकौं समस्या हुन्छन् । ती समस्या पहिचान गरेर विभिन्न संस्थासँग समन्वय गरी व्यवस्थापन गर्नु पर्ने भएकोले तत्काल सबै माग्नेहरु काठमाडौंका सडकबाट हट्दैनन् ।’

हालसम्म प्रहरी परिसरले २ सय माग्नेहरुलाई विभिन्न आश्रममा व्यवस्थापन गरेको छ । केहीलाई व्यवस्थापन गरेको भएपनि काठमाडौंका सबैलाई विस्थापन गर्न समय लाग्ने छ । भारतबाट नेपालमा आएकाहरुलाई भारतमा नै पठाइने छ भने घरपरिवार भएकालाई घरपरिवारसँग छलफल गरेर घरमा नै फिर्ता पठाइने प्रहरीको तयारी छ । त्यसको लागि भारतका संघ संस्थाहरुसँग कुरा गरिने योजना काठमाडौ महानगर र महानगरीय प्रहरी परिसर काठमाडौंले बनाएको छ । महानगर र प्रहरी परिसरले माग्ने व्यवस्थापनलाई तेस्रो प्रथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा काठमाडौं उपत्यकाका घरहरुमा प्रहरी कार्यालयका फोन नम्बरहरुसहितका स्टीकर टाँस्ने, दोस्रोमा काठमाडौंका हस्पिटलहरुमा धुम्रपान निषेध गर्ने र तेस्रोमा काठमाडौंका माग्नेहरुलाई व्यवस्थापन गर्ने योजना रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुई चरणका काम सम्पन्न गर्दा माग्ने व्यवस्थापनमा केही ढिलाई हुने एसएसपी लामाले जानकारी गराए । धेरै स्वास्थ्य र शारीरिक समस्या रहेकोले उनीहरुलाई उचित स्वास्थ्य उपचार र बस्ने बासको व्यवस्था महानगरले मिलाई रहेको छ । त्यसको लागि आर्थिक अभाव पर्ने भएकाले अर्थिक जुटाउँने काम महानगरबाट भईरहेको पनि उनले जानकारी गराए । तर, सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँको अक्षय कोषको बारेमा छलफल नभएको उनी बताउछन् ।

प्रधानमन्त्रीको र प्रहरीको कुरामा तालमेल मिलेन
यसरी विश्लेषण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि दिएका अभिव्यक्ति र महानगरीय प्रहरी परिसर काठमाडौंको कुरामा तालमेल छैन । प्रधानमन्त्रीले माग्ने देख्ने बित्तिकै प्रहरीलाई खबर गर्नु भने पनि परिसर प्रमुख बसन्तकुमार लामाका अनुसार प्रहरी तत्काल केही गर्न नसक्ने अवस्थामा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x