सुदूरपश्चिम प्रदेश सरकारले अव ठूला योजना मात्र निमार्ण गर्छ : मन्त्री बोहरा
डडेल्धुरा, १२ जेठ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ठूला योजना मात्र निमार्ण गर्ने बताएका छन् । शुक्रबार पत्रकार महासंघ डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उनले स–साना सडक, भवन, सिँचाई पोखरी, खानेपानी जस्ता योजनाहरु स्थानीय तहले निमार्ण गर्ने भएकाले प्रदेश सरकारले ठूला योजनाहरु मात्र निमार्ण गर्ने बताए ।
मन्त्री बोहराले चालु आर्थिक वर्ष जस्ता योजना अब नबन्ने र स्थानीय तहसँग समन्वय गरेर ठूलो योजना मात्रै निमार्ण गर्ने प्रतिबद्धता पनि जनाए । एक अर्को प्रसंगमा उनले सुदूरपश्चिम प्रदेशका गौरवका सडक योजनाहरु कार्यान्वयमा गइसकेको पनि बताए । उनले भने, ‘प्रदेश सरकारले गौरवका सडक योजनाहरु कार्यान्वयको चरणमा ल्याएको छ। यी सडकहरुले पहाड तराईको दुरी कम गर्ने स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादले समेत बजार पाउनेछ’।
सुदूरपश्चिममा अझै धेरै विकास निमार्ण मात्र नभइ खानेपानी समेत सबै नागरिकको पहुँचमा नरहेको प्रति आफू जानकार रहेको उनले बताए ।
सिँचाई योजनाको अनुगमन
त्यस्तै मन्त्री बोहराले कान्टिन सिचाइ योजनाको स्थलगत अनुगमन गरेका छन्। नवर्दुगा गाउँपालिका–२ मणिलेक ढिलेलीमा निमार्णाधीन योजनाको शनिबार अनुगमन गरेको हुन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख रुपैयाँको लागतमा निमार्ण भइरहेको योजनामा करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ।