साताको पहिलो दिन नै सेयर बजारमा १३.७९ अंकको गिरावट
काठमाडौं, १९ जेठ । यो साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बजेट खुलेदेखि नै क्रमशः घट्न थालेको बजार १३.७९ अंकले घटेर १३०५.६८ विन्दुमा झरेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट पुँजीबजारमैत्री भएकाले आगामी दिनमा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । तर, गत साता झिनो अंकले बढेको बजारमा आज पुनः गिरावट आएको छ ।
आज कारोबारमा आएका मध्ये होटल र उत्पादन तथा प्रशोधन बाहेक अरु सबै समूहको उप परिसूचक ओरालो लागेको छ । होटल समूहको उपसूचक १२.६१ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक १०.११ अंकले मात्र बढेको छ। सबैभन्दा धेरै गिरावट भने जीवन बीमा समूहमा आएको छ। जीवन बीमा समूहको उपसूचक ५८.३७ अंकले गिरावट आएको छ ।
बजार घटेको आजको दिन कारोबार पनि एक सय ६६ कम्पनीको ७५ करोड ३२ लाख ५७ हजार दुई सय नौ रुपैयाँको मात्र भएको छ। गतसाताको अन्तिम दिन एक अर्व ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। त्यस्तै, सो दिन कन्काई विकास बैंक, तारागाउँ रिजेन्सी होटल र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले धरै कमाएका छन् भने गुमाउनेमा पाँचथर पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् ।