७० लाखको लागतमा तिरुमा मोटर बाटो निर्माण
काठमाडौं, ३० जेठ । हिमाली जिल्ला रसुवाको दुर्गम स्थान तिरु सडक सञ्जालमा जोडीएको छ । रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर १ अन्तर्गतको तिरुमा मोटर बाटो पुगेसँँगै एकीकृत बस्ती निर्माण कार्यले गति लिने भएको हो ।
प्रदेशसभाको १ करोड रुपैयाँ र सासंद विकास कोषको ७० लाख रुपैयाँ गरी कुल एक करोड ७० लाख रुपैयाँको लागतमा साढे सात किलोमिटर सडकको निर्माण सम्पन्न गरिएको हो। तिरु सडकको निर्माणबाट गोगनेका समेत गरी ३ सय घरधुरी लाभान्वित हुनेछन् । बाटो निर्माण सगै तिरुको ५८ रोपनी जमिनमा एकीकृत बस्ती निर्माणकार्य सुरु भएको छ ।
सो एकीकृत बस्तीमा २०७२ सालको भूकम्पले तिरुबाट विस्थापितहरुलाई पुनस्थापित गराईने जानकारी दिइएको छ। यसका लागि १ सय ९ घरधुरीले लालपूर्जा प्राप्त गरिसकेका छन् भने बाँकीको प्रकृया अगाडी बढेको छ।