अब एप्सबाट ट्याक्सी घरमै बोलाउन सकिने
काठमाडौं, १९ असार । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको छ । प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत यात्रुहरुलाई सेवा दिने घोषणा गरेसँगै ट्याक्सी खोज्न चोक–चोकमा धाईरहनु पर्ने समस्या हटेको हो ।
हाल यो सेवा काठमाडौं उपत्यकाभरी सञ्चालनमा आईसकेको समाजले जानकारी दिएको छ । सेवाका लागि यात्रुले ‘इजी ट्याक्सी नेपाल’ एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत सेवा ग्राहीको अनुरोधलाई स्विकार गर्नेछन् र यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गई सेवा दिनेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेका अनुसार यो प्रविधिमा आधारित व्यवसायले सरकारको भिजिट नेपाल २०२० अभियानलाई सफल बनाउने छ । स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा दिन यस्तो प्रविधिले सहयोग पु¥याउने उनको भनाई छ ।
सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे । पहिलो चरणमा २७ सय भन्दा बढि ट्याक्सीमार्फत् सेवा शुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरु सो एप्समा जोडिँदै जाने छन् । हाल उपत्यका भित्र ५ हजारभन्दा बढी ट्याक्सीहरु रहेका छन् ।
हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछन् भने छिटै डिजिटल वालेटमार्फत् पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको समाजले जनाएको छ । त्यसैगरी सेवाग्राहीलाई यो सेवा दिन र रात दुबै समयमा दिईने जनाइएको छ ।