राजस्व लक्ष्य भेट्ने आशमा राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न सरकारको निर्देशन

काठमाण्डौ, ३१ असार । सरकारले असार मसान्त अर्थात् आज राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले एक सुचना जारी गर्दै राजस्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको हो । राजस्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आशमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हुन सक्ने बताइएको छ । हालसम्म राजस्व असुली लक्ष्यको ९० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

गत वर्ष सरकारले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा ७ खर्ब २६ अर्ब ७१ करोड रुपैयाँ असुली भएको थियो। यो ९९.१४ प्रतिशत हो। त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा असुली ६ खर्ब ५ अर्ब रुपैयाँ भएको थियो। यो लक्ष्यको एक सय ७ प्रतिशत थियो। त्यसभन्दा अघिको वर्ष २०७२/०७३ मा पनि सरकारले लक्ष्यको ९९.१३ प्रतिशतले राजस्व असुल गरेको थियो। यस्तै २०७०÷०७१ मा ३ खर्ब ५४ अर्ब रुपैयाँको लक्ष्य राखेकामा सजिलै पूरा भएको थियो। दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको छ ।