प्रदेश तीनका योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजिनामा
काठमाडौं,३१ असार । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले राजिनामा दिएका छन् । देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री डोरमणी पौडेल लगायतले देवकोटालाई राजिनामा फिर्ता लिन आग्रह गरेका छन् । थप अध्ययन अनुसन्धानका लागि ब्यस्त रहनु पर्ने भएकाले राजिनमा दिएको देवकोटाको भनाइ छ । उनी योजना आयोगमा नियुक्त भएपछि प्रदेश प्रोफाइल र आधारपत्र तयार पार्नुका साथै लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका थिए ।
विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका देवकोटा वित्तीय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । संघीयता विज्ञ देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । विश्व वैक, यूएनडिपी, डिफआइडी, जिआईजेट, एसडिसी लगायतका दातृसंस्थाहरुमा समेत देवकोटाले संघीयता लगायतका विषयमा परामर्शदाताका रुपमा कार्य गर्दै आएका छन् ।