सुनमा मूल्य बृद्धिको प्रभाव : व्यवसायी किन्ने, ग्राहक बेच्ने
काठमाडौं, २८ साउन । पछिल्लो सात दिनमा नेपालमा सुनको मूल्य निकै बढेको छ। मूल्य बढेपछि कारोबारमा मन्दी आएको व्यवसायीहरु बताउछन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि यसको प्रभाव परेको हो । आज नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७१ हजार रुपैयाँ पुगेको छ। आज तोलामा १ हजार रुपैयाँले बढेको हो । साउन महिनामा मात्र सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले बढेको छ ।
विगतमा यो समयमा सुनको राम्रो कारोबार हुने गरेपनि यसपटक प्राय : शून्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘कारोबारमा ८० प्रतिशतले कमि आएको छ, उनले भने, अहिले किन्ने भन्दा घरमा भएका सुन बेच्न आउने बढी छन् । विगतमा ग्राहकले किन्थे व्यवसायीहरुले बेच्थे अहिले ठिक उल्टो भएको छ, व्यवसायीलाई आफ्नो पैसाले धान्न नसक्ने गरि ग्राहक सुन बेच्न आएका छन् ।’
मूल्य तत्काल घट्ने संकेत नदेखिएको उनले बताए । मूल्य अस्थिर रहे नेपालको सुन बजारमा ठुलो धक्का पर्ने चिन्ता शाक्यले व्यक्त गरे ।