जनै पूर्णिमा अर्थात् रक्षाबन्धन पर्व मनाइदैं

काठमाडौं,३० साउन । आज श्रवण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधने गरिन्छ। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। रसुवाको गोसाइ कुण्ड, काठमाडौंको पशुपतिनाथ लगायतका धार्मिक स्थलहरुमा आजको दिन दर्शानार्थिरुको भिड लाग्ने गर्दछ ।
यसै बीच बजारमा चामल, दुध, नुन, मैदा जस्ता दैनिक उपभोग्य बस्तुसंगै जनैपूर्णिमा प्रयोग हुने रक्षाधागो, राखी र क्वाटीको मूल्य पनि बढेको छ । यसबर्ष गत बर्षको बजारमुल्य हेर्दा १०० प्रतिशत सम्म राखी, जनै र क्वाटीको मुल्य बढेको छ । २० रुपैयाँ पर्ने राखिको मुल्य बढेर ४० रुपैयामा पुगेको छ भने । १ सय ४० पर्ने जनै यस बर्ष १ सय ८० पुगेको छ भने पोकामा पाइने क्वाटी १५० देखि २०० मा बिक्रि गर्दै आइरहेको छ ।