२ सय २२ स्थानिय तहमा पुग्यो विद्युत सेवा
काठमाडौं, ६ भदौ। मुलुकको २ सय २२ वटामा स्थानिय तहमा ९० प्रतिशभन्दा बढी विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्यांकअनुसार १ सय १७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशतभन्दा कम छ । केही स्थानीय तहमा विद्युत पुगेकै छैन । नेपालमा ७ सय ५३ स्थानीय तह छन् ।
तथ्यांक अनुसार ५५ स्थानीय तहमा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १ सय ६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २ सय ५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ । हालसम्म कूल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । कूल जनसंख्याको करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत प्रयोग गर्न पाएका छैनन् ।
४ सय ६० गाउँपालिकामध्ये १ सय ३ तहमा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । प्रदेश १ का २३, प्रदेश ३ तथा गण्डकीका ६ र ६, प्रदेश ५ का ७, कर्णालीका ३७ र सुदूरपश्चिमका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको हो । ४७ गाउँपालिकामा ५ देखि ३५ प्रतिशत र ७१ तहमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। १ सय ४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ तहमा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।
महानगर, उपमहानगर सहित २ सय ९३ नगरपालिकामध्ये १४ वटामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । यसमा कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमश ः ६ र ८ नगरपालिका छन् । यसैगरी ८ नगरपालिकामा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमश ः ७ र १ नगरपालिका हुन् । ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ ।