माथिल्लो तामाकोशी आयोजना निर्माण कार्य तिव्र पारिदै
काठमाडौं १७ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण कार्य दु्रत रुपमा अगाडी बढाईएको छ । निर्धारित समयमा नै निर्माण सम्पन्न हुने गरी काम अगाडी बढाईएको हो ।
आयोजनाको सुरुङ पाईप राख्ने काम अगाडी बढाईएको छ । जन सबैभन्दा जटिल काम हो । आयोजनाका अनुसार लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु गरिएको छ । हालसम्म कूल ५२.५ मिटर पेनस्टक पाइप जडान भइसकेको छ । यसै सातामा थप २५ मिटर पेनस्टक पाइप राख्ने तयारी गरिएको छ।
आयोजनाका अनुसार तल्लो ठाडो सुरुङ ३७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ।
आर्थिक वर्ष २०७३÷७४ भित्र नै आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।