Date

शुक्र, साउन ११, २०८१
Fri, July 26, 2024

स्थानिय तहमा औद्योगिक ग्राम स्थापना गरिने

काठमाडौं १७ भदौ । सरकारले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम स्थापना गर्ने भएको हो ।

सरकारले पहिलो चरणमा ४३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । उक्त स्थानीय तहले प्रारम्भिक अध्ययन गरी आ—आफ्नो तहमा औद्योगिक ग्राम स्थापनाका लागि संघीय सरकार समक्ष सिफारिस गरेका छन् । स्थानीय तहले पठाएको सिफारिस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिसकेको छ । मन्त्रिपरिषद्बाट निर्णय हुने बित्तिकै ग्राम स्थापनाको प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराईमा सात बिघा जग्गा हुनुपर्नेछ । घना मानव बस्तीदेखि न्यूनतम एक किलोमिटर र ग्रामको २०० मिटरको परिधिभित्र बस्ती विकास नभएको हुनुपर्छ । ग्राममा स्थानीय उत्पादनसँग सम्बन्धित उद्योगलाई प्राथमिकता दिइनेछ । लघु उद्यम, घरेलु उद्योग तथा साना उद्योगमात्र ग्राममा सञ्चालन गर्न पाइनेछ।

स्थानीयस्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी उत्पादन गर्ने उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, डेरी, मह प्रशोधन, चिया कफी प्रशोधन, फलफूल प्रशोधन, जडीबुटी प्रशोधन, फर्निचर उद्योग, स्थानीयस्तरको मागमा आधारित साना तथा घरेलु उद्योग, खानी तथा खनिजमा आधारित उद्योग, ऊर्जामूलक, सेवामूलक उद्योग तथा स्थानीय तहले उपयुक्त ठानेका उद्योगले प्राथमिकता पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x