नायरले असोज २ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्ने, प्रवेश निःशुल्क
काठमाडौं, १ असोज । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले असोज २ गते (भोलि) अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्न काठमाडौंमा भोलि उक्त एजुकेसन फेयर आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
उक्त एजुकेसन फेयरमा अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने नायरका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार समयसमयमा विभिन्न फेयर आयोजना भइरहेका भए पनि विद्यार्थीलाई उचित परामर्श दिन र उनीहरुको करिअर सेट गर्नका लागि योगदान होस् भन्ने उद्देश्यले यो फेयर आयोजना गरिएको हो । ‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रमहरु चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो ।’
फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको लागि परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुने जनाइएको छ । अन्नपूर्ण होटलमा हुने फेयर विहान १० बजे सुरु भई साँझ पाँच बजे सकिने छ भने प्रवेश निःशुल्क छ ।