मासिदै चङ्गा उडाने परम्परा, आकाशमा उड्ने चङ्गा सोरुम र महलका भित्तामा सिमित
बलराम बुढाथोकी
काठमाडौं, १६ असोज । ‘दशैं त दशैं जस्तो नै लाग्न छोड्यो ।’ किन ? ‘उ बेला कति रमाईलो हुन्थ्यो । घटस्थापनायता आकाश भरी चङ्गा हुन्थे । चङ्गा चेट गर्न कति रमाईलो हुन्थ्यो । हामी चङ्गा गडाउन भने रै कति टाढासम्म पुग्ने गथ्यौँ । आजकालका केटा केटीहरुले चङ्गा नै उडाउन छोडे । उनीहरुलाई त एउटा मोबाईल र ईन्टरनेट भएपछि केही चाहिँदैन् ।’ यो भनाई काठमाडौं बानेश्वर स्थायी घर भएका इन्द्रबहादुर महर्जनको हो । उनको घर पहिला ललितपुरको पाटन क्षेत्रमा भएपनि उनीले पछि बानेश्वरमा जग्गा किनेर बसाई सकेका हुन ।
उनले थाहा पाउँदा काठमाडौंको माहोल नै अर्कै थियो । धेरै घरहरु थिएनन् । चारै तिर चौर थियो । उनी साथीहरुसँग खेल्नकै लागि भनेर टाढा–टाढासम्म पुग्ने गर्थे । अझ दशैंमा त उनी साथीहरुसँग मिलेर चङ्गा उडाउँन कै लागि भनेर कहाँ–कहाँ पुग्थे पुग्थे । त्यो सम्झदा उनलाई अहिले सपना जस्तो लाग्छ । उनको त्यो रमाईलोपन अहिलेको दशैंमा पाउँन मुस्किल छ । आजकालको दशैं त उनलाई दशैं नै जस्तो लाग्दैन् । उनको बाल्यकालमा घटस्थापना लागेसँगै आकाशभरी चङ्गा हुने गर्थे । अहिले त्यस्तो छैन् । त्यसैले पनि उनलाई दशैंको रमाईलोले छुन सकेको छैन ।
केही वर्ष यता दशैंको समयमा आकाशमा चङ्गा नउडेको देख्दा मौलिक परम्परा नै समाप्त हुँदै गएको जस्तो उनलाई लागेको छ । केही वर्ष अगाडिसम्म त उनका नातिनातिनाहरुले पनि चङ्गा उडाउँथे । तर, आजकाल उनीहरुले पनि चङ्गा उडाउँन छोडेका छन् । उनी भन्छन्–‘मेरै नाति नातिनीहरु पहिले पहिले त चङ्गा किन्नकै लागि भनेर पैसा माग्ने गर्थे । तर, आजकाल उनीहरुलाई टेलिभिजनमा आउँने हिन्दि टेलिसिरियल भएपछि केही चाहिँदैन् । बाहिर गएर उनीहरुलाई चङ्गा उडाउने मनै छैन् ।’
हुनपनि पछिल्लो समय आकाशमा चङ्गा उडाउने लहर कम हुँदै गएको छ । बरु दशंैको अवसरमा विभिन्न कार्यालयहरुले ग्राहकहरुको नजर आकर्षण गर्नकै लागि भित्ता–भित्तामा चङ्गाहरु टाँस्ने गरेका छन् । विशेष गरि बैंक, गाडी तथा मोटर साइकलका स्वरुम र महलहरुमा चङ्गा सजाउने गरेको पाइनछ । चङ्गा उडाउँन घरका छटबाट सहज भएपनि अहिलेका पुस्ताहरुले विलासिताको जीवन जिउँन थालेकाले त्यसतर्फ उनीहरुको ध्यान नगएको हुन सक्ने महर्जनको अनुमान छ ।
उनी भन्छन्–‘अहिले ढलान गरेका घरहरु बढेका छन् । ती घरका छटबाट चङ्गा उडाउन झन सहज हुन्छ । तर, अहिले चङ्गा उडाउन नै मन गर्न छोडी सके बरु मोबाईलमा भएका तास, लुडो जस्ता खेल खेलेर समय विताउँनमा व्यस्त छ अहिलेको पुस्ता ।’ हो उनले भने जस्तै अहिले चङ्गा आकाशमा देखिन छोडेका छन् । एका दुई कहिले काहीँ देखिएपनि त्यति धेरै चङ्गा नदेखिनुले पनि पछिल्लो पुस्ता इमेल र इन्टरनेटको दलदलमा फसिसकेको छ । उसलाई चङ्गा उडाउँनु भन्दा पनि मोबाईलका ग्यमहरु नै प्यारो लाग्न थालेका छन् ।
यसले हाम्रो मौलिक परम्परा त मासिने निश्चित नै छ । त्यसमा पनि बालबालिकाहरुले चाडवार्डलाई लक्षित गरी खेल्ने खेलहरु नखेल्दा त्यसैको नाम किताबमा घोकाउने बाध्यता पनि आउन सक्छ । विशेष गरी चङ्गा चिनाउँनका लागि बालिबालिकालाई शहर बजारमा भएका महल र सोरुमका भित्ता देखाउनु पर्ने बाध्यता पनि नआउला भन्न सकिन्न । महर्जन भन्छन्–‘यस्तै हुँदै जाने हो भने दशैंमा चङ्गा उडाउँथे अरे भन्ने इतिहास नहोला भन्न के बेर । यस्ता परम्परालाई जोगाउँन दशैंमा चङ्गा विशेष कार्यक्रमहरु विभिन्न ठाउँमा गर्न आवश्यक छ । नत्र चङ्गाको छुट्टै इतिहास बन्नेवाला छ ।’