कल निक्षेपमा रकम बढाउँदै बैकहरु
काठमाडौं १५ कात्तिक । नेपाल राष्ट्र बैंकको निर्देशन विपरित बैकले कल एकाउण्टको रकम बढाउँदै लगेका छन् । केन्द्रिय बैकले आगामी असार मसान्तसम्ममा कल एकाउण्टको रकम कुल निक्षेपको १० प्रतिशत भन्दा तल झार्न निर्देशन दिए पनि बैकले बढाउँदै लगेको छन् । तथ्यांक अनुसार १८ वटा बैंकको कल एकाउन्टमा सीमाभन्दा बढी रकम छ भने १० वटा बैंकले बढाएर लगेका छन्।
कुल निक्षेपमा प्राइम बैंकको कल एकाउन्टको हिस्सा २४.७५ प्रतिशत छ। यो रकम सबैभन्दा बढी हो । त्यस्तै, एनसिसी १७.९३ प्रतिशत, मेगा बैकको १६.८४ प्रतिशत, सिद्धार्थ बैकको १६.५३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैकको १५.२० प्रतिशत, सिभिल बैकको १४.७९ प्रतिशत, प्रभु बैकको १३.३४ प्रतिशत, माछापुच्छ्रे बैकको ११.५४ प्रतिशत र एनआइसी एसिया ११.३५ प्रतिशत छ।
बैकहरुको औसतमा ११.८८ प्रतिशत हिस्सा कल निक्षेपको छ। सबैभन्दा कम कृषि विकास बैंकको १.९१ प्रतिशत मात्र छ। नेपाल एसबिआइ बैंकको २.७९ प्रतिशत छ भने नेपाल बैंकको ४.७१ र राष्ट्रिय बाणिज्य बैंकको ६.९१ प्रतिशत छ। गत असारको तुलनामा प्राइम, नबिल, कुमारी, सेञ्चुरी, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बंगलादेश बैंक, एनएमबी, एभरेष्ट, जनता र लक्ष्मी बैंकले रकम बढाउँदै लगेका छन्।
माग्ने वित्तिकै फिर्ता गर्नुपर्ने ब्याज आउने निक्षेप खातालाई कल एकाउण्ट भनिन्छ । यस्तो एकाउण्ट प्रतिको निर्भर घटाउन केन्द्रिय बैकले घटाउँन निर्देशन दिएको हो । बैकले २०७७ असारसम्ममा १० प्रतिशत भन्दा तल झार्नुपर्नेछ । तर, कतिपय बैकले बढाउँदै लगेका छन् भने केही बैकले समय छ भन्दै वेवास्ता गर्दै आएका छन् ।