उच्च पदस्थको खातामा कडाई गर्दै केन्द्रिय बैक, वित्तीय संस्थाले सम्पति शुद्धीकरण विभाग नै गठन गर्नुपर्ने
काठमाडौं १७ कार्तिक । अब देखि उच्च पदस्थ भएका व्यक्तिहरुले बैकमा खातामा खोल्नु परेमा आफनो विवरण आफैले प्रस्तुत गर्नुपर्नेछ । नेपाल राष्ट्र बैकले सम्पति शुद्धिकरण प्रावधानलाई कडाई गर्दे उच्च पदस्थ व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अघि उच्च पदस्थ व्यक्तिको विवरण बैकले आफैले संकलन गर्नुपर्ने थियो ।
बैंक तथा वित्तीय संस्थाले अब देखि छुट्टै सम्पति शुद्धीकरण सम्बन्धी विभाग नै गठन गर्नुपर्ने भएको छ । यस अघि वित्तीय संस्थाले युनिट मात्रै राख्दै आएका थिए ।
त्यस्तै बैंकरले सरकार वा तोकिएका संस्था तथा निकायबाट कम्तिमा पनि बार्षिक रुपमा सूची माग गरी उच्च ब्यक्तिको सूची तयार पर्नु पर्ने हुन्छ । उच्च पदस्थ ब्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका ब्यक्तिहरुको सूचना तथा जानकारी बैंक तथा वित्तीय संस्थाले जोखिमको आधारमा वा आवश्यकता अनुसार लिनु पर्ने छ ।
साथै ग्राहकको जोखिम मूल्याङ्कन गर्ने काम बैकले नै गर्नुपर्नेछ । ऋण खातामा मात्रै यस्तो हुने गरेकोमा अब निक्षेप खातामा पनि जोखिम हेर्नु पर्ने छ । जोखिम मूल्याङ्कनको आधारमा जोखिममा आधारित प्रणाली बमोजिम उच्च जोखिममा रहेका ग्राहकको विवरण अद्धयावधिक गर्ने संयन्त्र स्थापित गर्नु पर्छ ।
बृहत्त पहिचान विधिलाई पनि कसिलो पारिएको छ। जस्तो अब नैतिक पतन हुने कसूरजन्य कार्यमा संलग्न भइ अदालतबाट कसूरदार ठहरिएको ग्राहकका हकमा बृहत्त पहिचान पद्दति अबलम्बन गर्नु पर्ने छ । विदेशी मुद्रा सटहीलाई पनि कडाइ गरिएको छ। कुनै ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा गरेको ५ लाखभन्दा वढि रकमको नगदमा सटही गरिएको वदेशी मुद्राको कारोबार बारे पनि जानकारी दिनु पर्ने हुन्छ ।