नेपालमा प्याजको मूल्य छोइ नसक्नु, एक महिनामै झण्डै सतप्रतिशतको वृद्धि
काठमाडौं, ७ मंसिर । पछिल्लो एक महिनामा प्याजको मूल्य ९५.१२ प्रतिशत वृद्धि भएको छ । गत कात्तिक ६ गते प्रतिकेजी ८२ रुपैयाँमा विक्री भएको प्याज आज प्रतिकेजी एक सय ६० रुपैयाँमा विक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।
भारतको केन्द्रीय सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा देखिएको हो । अत्याधिक वर्षाको कारण प्याज उत्पादनमा कमी आएसँगै त्यहाँका उपभोक्तालाई मार नपरोस भनी भारत सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको थियो ।
नेपालको कुल जनसंख्या मध्ये करिव ६५ प्रतिशत जनता कृषिमा आवद्ध छन् । एक तथ्याङ्कका अनुसार नेपालमा वार्षिक ५ लाख मेट्रिक टन प्याजको माग छ । कुल मागको ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।
त्यस्तै एक महिनामा सबैभन्दा बढी मूल्य वृद्धि हुनेमा हाइब्रीड घिउ सिमी र लोकल घिउ सिमी रहेका छन् । उक्त सिमीहरुको एक महिनामा एक सय १८ र एक सय २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । हाइब्रीड काँक्रो, लोकल काँक्रो, भिण्ड, मकै बोडीलगायतको तरकारीको मूल्यमा वृद्धि भएको छ ।